फापरबारीको मेडिकललाई एक लाख जरिवाना

साझाकुरा
२०७९ पुष २, शनिबार १२:०७

हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको फापरबारीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा अनुगमन गरिएको छ ।
बागमती–६, फापरबारी बजारमा शुक्रबार जिल्ला अनुमगन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको संयोजकत्वमा बजार अनुगमन भएको हो । फापरबारी बजार पूर्वी क्षेत्रकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो । विगतमा काभ्रे र मकवानपुरबीच यही फापरबारी बजारमा व्यापार आदानप्रदान हुन्थ्यो ।

काभ्रेबाट धान खरिद गर्न फापरबारी आउने धेरै छन् । अहिले पनि फापरबारी बजारको व्यापार आकार ठूलै छ । प्रशासनले हेटौंडा बजारमा मात्रै अनुगमन सीमित राख्दै आएकोमा अब अनुगमन गाउँ पस्न थालेको छ ।फापरबारीका विभिन्न ९ वटा व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामग्री बिक्री वितरणका लागि राखेका विभिन्न ४ वटा पसल÷व्यवसायलाई जरिवाना गराइएको छ ।

फापरबारीमा सञ्चालित कञ्चन मेडिकल हल, बीएन एग्रोभेट, सेवा एग्रोभेट र घलान किराना पसललाई नगद जरिवाना गराइएको छ । अनुमति नलिई क्लिनिक सञ्चालन गरेको, म्याद गुज्रेको औषधि बिक्रीका लागि राखेको, अनधिकृत व्यक्तिले औषधि बिक्री वितरण गरिरहेको पाइएपछि कञ्चन मेडिकल हललाई १ लाख रुपैयाँ जरिवाना गराइएको छ ।सम्भवतः जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गराएको थोरै घटनामध्ये यो पनि पर्दछ । बेलाबखत मात्रै हुने अनुगमन र थोरै जरिवानाका कारण व्यवसायहरुमा सुधार आउन नसकेको गुनासो आइरहेको थियो । औषधि व्यवस्था विभागमा दर्ता नभई व्यवसाय सञ्चालन गरेको बीएन एग्रोभेट र सेवा एग्रोभेटलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ जरिवाना
गराइएको छ । दुवै पसलबाट म्याद सकिएका विषादि फेला पारी जफत गरिएको छ ।

म्याद गुज्रिएका खाद्यान्न सामग्री भेटिएको घलान किराना पसललाई १० हजार रुपैयाँ जरीवाना गरिएको अनुगमन समितिले जानकारी दिएको छ । अन्य ५ वटा पसल÷व्यवसायलाई सचेत गराइएको छ ।मकवानपुरका सबै क्षेत्रमा बजार अनुगमनलाई निरन्तरता दिइने सहायक प्रजिअ कँडेलले बताए । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाकी निमिक्त प्रमुख टीका शर्मा, उपभोक्ता हकहित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष बासु खतिवडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा कार्यरत् लेखमान रावत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका सहायक प्राविधिक दीपक घिमिरेलगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*