मनहरीमा राजश्व छली नियन्त्रणमा आउँदा बढ्यो आम्दानी

साझाकुरा
२०७९ पुष ३, आईतवार १०:१०

हेटौंडा- जिल्लाका १० स्थानीय तहमध्ये मनहरी गाउँपालिका नदीजन्य पदार्थको निकासीबाट उल्लेख्य राजश्व संकलन गर्ने स्थानीय तह हो ।
जिल्लामा मनहरीसहित हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बकैया, बागमती, राक्सिराङ गाउँपालिका नदीजन्य पदार्थबाट राम्रो आम्दानी गर्ने गाउँपालिकामा पर्छन् । हेटौंडा उपमहानगरपालिकापछि गाउँपालिका मध्ये सबैभन्दा धेरै राजश्व उठाउने भने मनहरी गाउँपालिका हो ।

मनहरीमा विगतको समयमा नदीजन्य पदार्थ ढुवानी गर्दा राजश्व छली हुने गरेको तथ्य बाहिर आएको थियो । तर, केही दिनअघि मात्रै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले चितवनको सीमामा रहेको लोथरमै पुगेर राजश्व छली गर्ने ३ वटा टिपरलाई कानुनी कारबाहीको दायरामा ल्याएर जरिवाना तिराएपछि राजश्व छलीमा कमी आएको छ ।

जसकारण मनहरीमा नदीजन्य पदार्थबाट उल्लेख्य राजश्व आम्दानी भएको देखिएको हो । मनहरीले दैनिक ८ लाख रुपैयाँ वरपर नदीजन्य पदार्थबाट मात्रै आम्दानी गर्दै आइरहेको हो । गाउँपालिकाले कडा नीति लिएपछि राजश्व छली गर्दै आएका टिपर तथा ट्रयाक्टरहरुले भटाभट राजश्व तिरेर मालसामान ढुवानी गर्न थालेका छन् ।

राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ । मनहरीबाट अधिकांश नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा छिमेकी जिल्ला चितवन निकासी हुँदै आएको छ ।२२ मंसिरमा गाउँपालिकाले ३ वटा टिपरलाई कारबाही गरेपछि त्यसको भोलिपल्ट २३ मंसिरमा २ सय वटा ढुवानी साधनबाट ८ लाख १५ हजार २ सय रुपैयाँ राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । २४ मंसिरमा ढुवानी साधनको संख्या बढेर २ सय १९ वटा पुगेको थियो । त्यसदिन गाउँपालिकालाई ८ लाख ६० हजार राजश्व प्राप्त भएको थियो । २५ मंसिरमा २ सय १२ वटा ढुवानी साधनले ८ लाख ६२ हजार ६ सय राजश्व तिरेका छन् ।

२६ मंसिरमा २ सय २१ वटा ढुवानी साधनले ८ लाख ६२ हजार ३ सय रुपैयाँ राजश्व तिरेको जनाइएको छ । २७ मंसिरमा भने नदीजन्य पदार्थ कम निकासी भएको देखिएको छ । त्यसदिन १ सय ९१ वटामात्रै ढुवानी साधन चल्दा ८ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन भएको थियो ।
यसले पनि राजश्व छली गरेर नदीजन्य पदार्थ निकासी गर्नेहरुमा नियन्त्रण देखिएको हो । २८ मंसिरमा २ सय ८ वटा ढुवानी साधनले नदीजन्य बस्तु निकासी गर्दा ८ लाख ६२ हजार २ सय र २९ मंसिरमा १ सय ९४ वटा ढुवानी साधनबाट नदीजन्य बस्तु चितवन निकासी हुँदा ८ लाख ६२ हजार ६ सय राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यद्यपि, राजश्व छली गर्ने सवारीसाधनमाथि पूर्ण नियन्त्रण भने हुन सकेको छैन । गाउँपालिकाले राजश्व चुहावटलाई रोक्न विशेष नीति बनाउन लागेको जनाइएको छ । गाउँपालिकाले यसअघि राजश्व छली गर्न सहयोग गरेको आरोपमा कर्मचारीहरुलाई निलम्बनसमेत गरेको छ । टिपर चालकलाई
जरिबाना तिराउनेलगायत दण्ड गरेपछि राजश्व संकलनमा बृद्धि देखिएको छ ।प्राप्त जानकारीअनुसार प्रहरी चौकी लोथरका इञ्चार्जको समेत सरुवा भएको पाइएको छ । यसअघि प्रहरीकै संलग्नतामा राजश्व छली हुने गरेको आरोप थियो । गाउँपालिका अध्यक्ष कालाखेतीले राजश्व छलीलाई नियन्त्रण गर्न अनेकौं उपायहरुको खोजी भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*