मुख्यमन्त्रीमा बानियाँ की लामा ? कांग्रेसका ३७ सांसद को–कता ?

साझाकुरा
२०७९ पुष ४, सोमबार ११:२५

हेटौंडा, ३ पुस÷ बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेपछि सरकार गठनका लागि बाटो खुलेको छ । बागमतीमा सत्ता गठबन्धनको ६५ सिटसहित सरकार बनाउन बहुमत पुगेको छ । १ सय १० सदस्य रहने प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद भए पुग्छ । गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गरेर ६५ सिट पुगेको हो ।

जसकारण बागमतीमा सरकारको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । अघिल्लो पाँच कार्यकालमा नेतृत्व नगरेको कांग्रेसले दोस्रो कार्यकालमा सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको हो । कांग्रेसले सरकारको नेतृत्व गर्दा मुख्यमन्त्री को हुने ? भन्ने विषयले पनि चर्चा
पाइरहेको छ । कांग्रेसबाट मुख्यतः पार्टी केन्द्रीय सदस्य रहेका प्रदेश सांसद नुवाकोटका बहादुर सिंह लामा र पार्टी प्रदेश सभापति मकवानपुरका इन्द्रबहादुर बानियाँको नाम चर्चामा छ ।

मुख्यमन्त्री हुन दुवै नेतालाई पहिला प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता चुनिनु पर्नेछ । दलको नेता चुनिएसँगै मुख्यमन्त्री हुने बाटो खुल्नेछ । जसका लागि लामा र बानियाँ दुवैले संसदीय दलको नेता हुन पार्टीभित्र चर्को दबाब सिर्जना गरिरहेका छन् । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा निकटका हुन् । यसअघि प्रतिनिधिसभा सदस्य रहेका लामा मुख्यमन्त्री हुनकै लागि प्रदेशसभामा आएको चर्चा छ भने अघिल्लो कार्यकालमा दलको नेता भएको र निर्वाचनमा पार्टीलाई जिताएको आधारमा बानियाँले आफ्नो दाबेदारीलाई बलियो बनाएका छन् ।

दलको नेता बन्न दुवै नेताहरु तीव्र लबिङमा छन् । दलको नेता बन्न कसको पक्षमा कति सांसद छन् यसले अर्थ राख्दछ । तसर्थ, दलको नेता चुनिन निर्वाचन भएमा बढी मत ल्याउने नै दलको नेता हुनेछ । प्रदेशसभामा कांग्रेससँग ३७ जना प्रदेशसभा सदस्य छन् । जसमा अधिकांश सदस्य देउवा पक्षका छन् । देउवा पक्षका २४ सांसद छन भने प्रकाशमान सिंह पक्षका ९ जना छन् । कुनैबेला छुट्टै समूह बनाएका सिंह हाल देउवाकै समूहमा छन् । जसकारण संस्थापन पक्षसँग ३२ जना सांसद रहेको कांग्रेस निकट स्रोतको दाबी छ । कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला– गगन थापा समूहका ५ जना मात्रै सांसद रहेको बुझिएको छ । दलको नेतामा संस्थापनबाट हुने देखिन्छ ।

बागमतीमा संस्थापन अर्थात देउवा–सिंह पक्षमा बहादुर सिं लामा, इन्द्रबहादुर बानियाँ, विमल ठकुरी, श्याम बहादुर खड्का, प्रभात तामाङ, कृष्णकुमार तामाङ (समीर), मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, मुदुकुमार श्रेष्ठ, गोविन्द लम्साल, छेत्रबहादुर बम्जन, रमेश महत, पुकार महर्जन, कुन्दन राज काफ्ले, रामकुमार पहाडी, उर्मिला नेपाल, बिनु रायमाझी पौडेल, शिवराज अधिकारी, लक्ष्मी देवी श्रेष्ठ, गीता गुरुङ, माया श्रेष्ठ, मिना पोखरेल, दीपेन्द्र श्रेष्ठ, कञ्चन चन्द्र वादे, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, सुना परियार रहेका छन् । संस्थापन इतरको कोइराला–थापा पक्षमा श्रीराम लामिछाने, उत्तम जोशी, सुरेश श्रेष्ठ, याङिला शेर्पा रुइत र शान्ता ढकाल देखिएका छन् ।

तर, लामा र बानियाँबीच प्रतिस्पर्धा भएमा संस्थापन पक्ष नै दुई भागमा विभाजन हुने देखिएको छ । आफ्नै समूहभित्र प्रतिस्पर्धा हुँदा कोइराला र थापा समूहको जसले साथ पाउँछ उही नै संसदीय दलको नेता बन्ने देखिएको हो । लामा र बानियाँमध्ये कसले संस्थापन इतर समूहको साथ पाउँछ अहिले नै भन्न सकिने स्थिति छैन् । २०७४ मा नै दलको नेता भइसकेका र चुनावी सरकारको नेतृत्व दाबी गरेर पनि एकीकृत समाजवादीका कारण मुख्यमन्त्री हुन नपाएका बानियाँ यो पटक मुख्यमन्त्री भएरै छाड्ने दाउमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*