भागवण्डा टुङ्गिएपछि मात्रै प्रदेशमा सरकार बन्ने संकेत

साझाकुरा
२०७९ पुष ५, मंगलवार १०:३९

हेटौंडा-नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेता बन्ने कसरत सुरु भएको छ । शनिबार निर्वाचन आयोगले मंसिर ४ मा बागमती प्रदेशमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएसँगै दलको नेता बन्ने कसरत सुरु भएको हो । आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरुमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्यहरुले आवश्यक कसरत सुरु गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूको सरकार बनाउन स्पष्ट बहुमत रहेकाले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरू संसदीय दलको नेता बन्ने र बनाउने कसरतमा लागेका छन् । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सरकार निर्माण गर्न आवश्यक प्रदेश सभा सदस्य रहेकाले मूलतः कांग्रेस र माओवादी केन्द्रभित्र संसदीय दलको नेता को बन्ने र कसलाई बनाउने भन्नेमा बढी प्रतिस्पर्धा देखिएको छ ।

नेकपा एमालेमा पनि संसदीय दलको नेता बन्न दौडधुप सुरु भएको छ । तर, एमालेबाट केन्द्रीय सदस्य समेत रहेका जेएन थपलिया दलको नेता बन्ने सम्भावना बलियो छ । अरु सांसदहरुले पनि दलको नेता बन्नका लागि कसरथ सुरु गरेका छन् । नेपाली कांग्रेस ३७ सिट जित्दै बागमती प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको छ । २५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हाबी रहेको छ ।

संस्थापन पक्षबाटै संसदीय दलको नेता बन्न दुई जना कसरत गरिरहेका छन् । कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन् ।

कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नैको लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ । पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको लामाको भनाई छ । त्यस्तै बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दावेदार थिए । सहमती कार्यान्वयन भएको भए उनी यतिबेला प्रदेशको मुख्यमन्त्री हुन्थे ।

सत्ता गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल बानियाँ र हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेतृत्व गर्ने लिखित सहमती भएको थियो । तर, अन्तिम समयमा पाण्डे सहमतीबाट पछि हट्दा बानियाँ मुख्यमन्त्री बन्ने मौकाबाट वञ्चित भएका थिए । त्यसैले पनि यो पटक बानियाँ आफ्नो दावेदारी स्वभाविक रहेको बताउँछन् । बानियाँ यसअघि संविधान सभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन् ।

यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै बानियाँ सोहीअनुसार दलभित्र सहमति भएर आफू सर्वसम्मत रुपमा नै दलको नेता चयन हुने उनको दावी छ । सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रमा पनि प्रदेश संसदीय दलको नेतामा ४ जनाबीच रस्साकस्सी सुरु भएको छ । २१ जना प्रदेशसभा सदस्यसहित संसदको तेस्रो दल बनेको माओवादीमा दलको नेता बन्न ४ जनाले कसरत थालेका हुन् ।

माओवादी केन्द्रमा सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, बागमती प्रदेश सरकारको आर्थिक मामिला मन्त्री समेत रहेका धादिङबाट निर्वाचित प्रदेशसभा सदस्य शालिकराम जम्कट्टेल, सिन्धुलीबाट निर्वाचित गङ्गानारायण श्रेष्ठ र प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल संसदीय दलको नेता बन्न लविङमा छन् ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष रहेका श्रेष्ठ डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुपूर्व माओवादी केन्द्रको नेता थिए । तर,चुनावमा नयाँ शक्ति र माओवादीबीच भएको सहमतीअनुसार उनी माओवादीको चुनाव चिन्हबाट उठेका थिए । माओवादी केन्द्रका पौडेल आफू पार्टीको प्रदेश अध्यक्ष भएकाले संसदीय दलको नेतामा दाबी स्वभाविक रहेको बताउँछन् । पुस ५–६ गते पार्टीको बैठक बसेर दलको नेताको टुंगो लाग्ने उनको भनाई छ ।

गठबन्धनको अर्को घटक दल नेकपा एकिकृत समाजवादीमा दलको नेताको लागि प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल आकांक्षी छन् । खनालले पार्टीको दलको नेतामा आफ्नो दावी रहेको बताएका छन् । प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट पाएको समाजवादी ७ सिटसहित प्रदेशसभाको पाचौं दल बनेको छ ।

पहिलोपटक प्रत्यक्षतर्फ चुनाव जित्दै संसदमा बलियो उपस्थिती बनाएको प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि भने हालसम्म कुनै चर्चा चलेको छैन । पार्टीको केन्द्रीय निर्णय र नीति आएपछि संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने राप्रपाको नवनिर्वाचित सांसदहरुको भनाई छ । प्रदेश सभामा नेपाल मजदुर पार्टीको एक जना प्रत्यक्षबाट निर्वाचित र दुई समानुपातिकतर्फका गरी तीन जना र हाम्रो नेपाली पार्टीको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट एक÷एक जना गरी दुई जना प्रदेश सभा सदस्य रहेका छन् ।

बागमती प्रदेशमा अबको २० दिनभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तत्काल सरकार गठन प्रक्रिया सुरु नहुने
बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया तत्काल सुरु नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण नहुँदासम्म बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु नहुने भएको हो । निर्वाचन आयोगले शनिबार प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको थियो । यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएपनि त्यसको प्रक्रिया सुरु हुन भने केहि समय लाग्ने भएको छ ।

सोही अनुसार प्रदेश प्रमुख शर्मा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र दलका नेताहरुसँग छलफलमा रहेको जनाइएको छ । आयोगको प्रतिवेदन प्राप्त भएसँगै सरकार गठन प्रक्रियाको बाटो खुला भएपनि प्रदेश प्रमुखले सबैसंग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने उनको सचिवालयले जनाएको छ । आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सो अवधिभित्र प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरी सबै प्रक्रिया र काम पुरा हुनेछ ।

पहिलो संसद बैठकपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउनेछ । सांसदहरुको शपथ पछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्छ । सोसँगै प्रदेशमा सरकार गठनको प्रक्रियाले तीव्रता पाउँछ । बागमती प्रदेशमा कुनै पनि दललाई एकल बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (१) स्वतः निष्कृय हुने देखिन्छ । कुनै एक दलको बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाउने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बन्न सक्ने व्यवस्था रहेको छ ।

सोहीअनुसार बहुमत जुटाउन सक्ने दल वा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । ११० प्रदेश सभा सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसले ३७, एमालेले २७, माओवादी केन्द्रले २१, राष्टिूय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् । बागमती प्रदेशमा सरकार गठनको लागि कुल सदस्यमध्ये ५६ जनाको समर्थन आवश्यक हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*