कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने

साझाकुरा
२०७९ पुष ६, बुधबार १२:३७

हेटौंडा-नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दल नेता निर्वाचनबाट चयन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको मंगलबार काठमाडौंमा बसेको बैठकले निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचन पछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया सरु गर्ने र मिति तय गर्ने निर्णय गरेको जानकारी दिए । उनले बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको छ भन्दै रुवालीले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलको नेताको भोलि हुने निर्वाचन पछि तोक्ने जानकारी दिए ।

उनको अनुसार बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । उक्त समितिले दलको नेता चयनका लागि आवश्यक प्रक्रिया संचालन गर्ने उनले बताए । बैठकले कांग्रेस बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको हो । उक्त समितिले मंगलबारदेखी आफ्नो जिम्मेवारीमा रहेर निर्वाचनको प्रक्रिया सुरु गर्ने उनको भनाई छ । समितिमा ४ जना सदस्य रहेका छन् ।

समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ रहेका छन् । समितिले प्रधानमन्त्री शेरबहादुर देउवासंगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उनले बताए । कांग्रेस संसदीय दलको नेतामा सस्ंथापन पक्षकै २ जना आकांक्षी हुँदा नेता चयन गर्न निर्वाचन हुन लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख) बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन् । कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ । पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको लामाको भनाई छ ।

बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दाबेदार थिए ।
सहमति कार्यान्वयन भएको भए उनी यति वेला प्रदेशको मुख्यमन्त्री हुन्थे । सत्ता गठबन्धनमा बागमती प्रदेश सरकारको आधा–आधा कार्यकाल बानियाँ र हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेतृत्व गर्ने लिखित सहमति भएको थियो ।

तर अन्तिम समयमा पाण्डे सहमतिबाट पछि हट्दा बानियाँ मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका थिए । त्यसैले पनि यो पटक बानियाँ आफ्नो दावेदारी स्वाभाविक रहेको बताउँछन् । बानियाँ यसअघि संविधान सभा सदस्य हुँदै संघीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन् । यो पटक संसदीय दलको नेता र मुख्यमन्त्री आफूले पाउनुपर्ने उनको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*