बागमतीमा मन्त्रिपरिषद् सानो बनाउन नागरिकको सुझाव
हेटौंडा-नागरिकहरुले बागमती प्रदेशमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् ।मुलुक आर्थिक संकटको चपेटामा परिरहेका बेला राज्यलाई आर्थिक भार बढ्ने गरी ठूलो संख्यामा मन्त्रालय र मन्त्रीहरु नियुक्त नगर्न नागरिकहरुले सुझाव दिएका हुन् । ४ मंसिरमा भएको प्रदेशसभा निर्वाचन पश्चात दोस्रो कार्यकालका लागि बागमतीमा सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको छ ।
१ सय १० सदस्यीय प्रदेशसभामा ६५ सिट भएको वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित छ । अघिल्लो कार्यकालमा पनि सत्ता गठबन्धनले मन्त्रालय र मन्त्रीहरुको संख्या उल्लेख्य रुपमा बढाएपछि देशभर आलोचना भएको थियो । प्रदेशमा पहिलोपटक प्रदेश सरकार गठन हुँदा सातवटा मन्त्रालय रहेका थिए भने कार्यकालको अन्तिम सरकारले १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाएको थियो ।
संघीयता खर्चिलो भइरहेको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला बागमतीमा गठबन्धनका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जम्बो मन्त्रिपरिषद् गठन भएपछि देशभर आलोचना भएको थियो । मुख्यमन्त्री पाण्डेले गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवाजी)लाई भाग पु¥याउन मन्त्रालय र मन्त्री संख्या बढाएका थिए । भवन अभावमा एउटै मन्त्रालयमा पाँच वटा मन्त्रालय राखेको समाचार देशभर भाइरलसमेत भएको थियो । जसकारण आगामी सरकारलाई नागरिकहरुले बेलैमा सचेत गराएका हुन् ।
हाल दोस्रो कार्यकालका लागि नयाँ सरकार गठनको तयारी भइरहँदा सानो आकारको मन्त्रिपरिषद बनाउन दलहरुलाई नागरिकको सुझाव छ । मन्त्रालय फुटाएर मन्त्रीको संख्या थपेका कारण प्रदेशप्रति वितृष्णा बढेको सर्वसाधारणको बुझाइ छ । ठूलो आकारको मन्त्रिपरिषद् बनाउँदा विकास निर्माणमा खर्च गर्नुपर्ने रकम तलब भत्ता र सेवा सुविधामा बढी खर्च हुने गरेको भन्दै नागरिक समाजले विरोध जनाइरहेको छ । अब विगतको गल्ती सच्याउँदै सानो आकारको मन्त्रिपरिषद् बनाउन नागरिकहरुले सुझाव दिएका हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकरप्रसाद उपाध्यायले मन्त्रालयको संख्या ठूलो बनाएर मात्रै नागरिकको सेवामा पहुँच बढेको नदेखिएको बताए । उनले सुशासनका नाममा मन्त्रिपरिषद् ठूलो बनाएको विषयमा मुल्यांकन नभएको बताए । ‘जनतालाई कति सेवासुविधा दिन सक्यो त्यसको मुल्यांकन भएको जस्तो लाग्दैन् । मन्त्रिपरिषद् ठूलो बनाएर मात्रै हुँदैन्,’ उपाध्यायले भने । हेटौंडाका अजयराज दुलालले जनताले आभास पाउने गरी विकासको काम हुन नसकेको गुनासो गर्दै मन्त्रिपरिषद् ठूलो बनाउन नहुने धारणा राखे । उनले पछिल्ला
सरकारको गतिविधिले चित्त बुझ्दो अवस्था नरहेको उनको भनाई छ ।
प्रदेश सरकार गठन हुँदा मन्त्रालयले पाउने बजेटको आकारलाई पनि ध्यानमा राखेर सानो संख्यामा गठन हुनुपर्ने विज्ञहरुको ठहर छ । नागरिक, बुद्धिजीवी तथा सर्वसाधारणले सानो आकारको मितव्ययी सरकार बनाउन सुझाव दिइरहँदा राजनीतिक दलमा भने प्रदेश सरकारको भागबन्डा कसरी मिलाउने भन्ने चुनौती देखिएको छ । कसैको पनि बहुमत नआएको अवस्थामा दलका नेताहरु सरकार गठनको भागबन्डा मिलाउने कसरतमा छन् । वर्तमान सत्ता गठबन्धन कायमै रहेको अवस्थामा बागमतीमा पनि गठबन्धनकै सरकार निर्माण हुने देखिन्छ । बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ तर, गठबन्धनमा भागबण्डा भने टुंगो लागिसकेको छैन् ।
नागरिकहरुले सानो आकारको सरकार बनाएर विकासप्रति जनताको अपेक्षा पूरा गर्ने अग्रसरता देखाउनु पर्नेमा नेताहरुको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य तथा माओवादी केन्द्र प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले गठबन्धनभित्र छलफल गरेर कुल आकारमा मन्त्रिमण्डल गठन गर्दा सरकार सञ्चालनमा सजिलो र सहज हुन्छ त्यसकै आधारमा अगाडि बढ्ने बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी पाँच वर्ष गठबन्धन सरकार टिकेर काम गर्नुपर्ने धारणा राख्छन् ।
उनले आगामी सरकारले परिवर्तनशील भएर नागरिकको काम गर्नुपर्नेमा जोड दिए । एमाले मकवानपुरका सचिवसमेत रहेका जनप्रतिनिधि नवीन सिग्देलले सरकार सञ्चालन जस्तो संवेदनशील विषयमा भागबण्डा गरेर दाजुभाईले जस्तो गरी अंशबण्डा गरेर खाने कुरा नभएको बताउँछन् । राज्य सञ्चालनमा बाँडिचुँडी नभई आवश्यकताका आधारमा गठन हुनुपर्ने उनको भनाई छ ।