दलको नेता लामा कि बानियाँ ?

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन १३ पुसमा
साझाकुरा
२०७९ पुष ८, शुक्रबार ०९:५२

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न पुस १३ गते निर्वाचन हुने भएको छ । निर्वाचन समितिले विहीवार दलको नेता चयन गर्न निर्वाचनसम्बन्धी कार्यक्रम टुंगो लगाएको हो । संसदीय दलको निर्वाचनमा पुस १३ गते दिउँसो २ बजे मतदान हुने कार्यतालिक निर्वाचन समितिले तय गरेको छ । संसदीय दलको नेतामा नुवाकोटबाट निर्वाचित बहादुरसिं लामा र मकवानपुरबाट निर्वाचित ईन्द्रबहादुर बानियाँको दाबी रहँदै आएको छ ।

लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । शेखर कोइराला समूहबाट हालसम्म दलको नेतामा दाबी नरहेको बुझिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती दलको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दबाब दिँदै आएका छन् ।

गठबन्धनको भागबण्डामा पनि बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना बढी रहेको नेताहरु बताउँछन् । बागमतीमा सरकार बनाउन वर्तमान सत्ता गठबन्धनसँग पर्याप्त ६५ सिट रहेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गरेर ६५ सिट रहेको हो ।

बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ । प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट ल्याएको थियो । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।निर्वाचन समिति संयोजक चन्द्र महर्जनले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा निर्वाचन हुने जानकारी दिए । यसअघि दलको निर्वाचन काठमाडौंमा गर्ने कि हेटौंडामा भन्ने विषय टुंगिएको थिएन । अधिकांश सांसद्ले निर्वाचन काठमाडौंमै गनुपर्ने राय राखेपनि अन्ततः समितिले निर्वाचन हेटौंडामा गर्ने भएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत् पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशित गरिने भएको छ ।

मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय सोही दिन एक घण्टालाई प्रदान गरिनेछ भने ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने महर्जनले बताए । पुस १३ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने समय दिइएको छ । सोही दिन दिउँसो १ बजेर ४५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २ बजेदेखि मतदान सुरु गरिने महर्जनले बताए ।

मुख्यमन्त्री हुन दुबै नेतालाई पहिला प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता चुनिनु पर्नेछ । दलको नेता चुनिएसँगै मुख्यमन्त्री हुने बाटो खुल्नेछ । जसका लागि लामा र बानियाँ दुबैले संसदीय दलको नेता हुन पार्टीभित्र चर्को दबाब सिर्जना गरिरहेका छन् । यसअघि प्रतिनिधि सभा सदस्य रहेका लामा मुख्यमन्त्री हुनकै लागि प्रदेशसभामा आएको चर्चा छ भने अघिल्लो कार्यकालमा दलको नेता भएको र निर्वाचनमा पार्टीलाई जिताएको आधारमा बानियाँले आफ्नो दाबेदारीलाई बलियो बनाएका छन् ।

बागमतीका ३७ सांसद्मध्ये संस्थापन पक्षका मात्रै ३२ जना रहेको जनाइएको छ । शेखर कोइराला पक्षका सांसद ५ जना रहेको जनाइएको छ । लामा र बानियाँ संस्थापन समूहकै रहेकाले बहुमत सदस्यले कसलाई जिताउँछन् जसका लागि १३ पुस कुर्नुपर्ने हुन्छ । बागमतीमा संस्थापन अर्थात देउवा–सिंह पक्षमा बहादुरसिं लामा, इन्द्रबहादुर बानियाँ, विमल ठकुरी, श्यामबहादुर खड्का, प्रभात तामाङ, कृष्णकुमार तामाङ (समीर), मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, मुदुकुमार श्रेष्ठ, गोविन्द लम्साल, छेत्रबहादुर बम्जन, रमेश महत, पुकार महर्जन, कुन्दनराज काफ्ले, रामकुमार पहाडी, उर्मिला नेपाल, बिनु रायमाझी पौडेल, शिवराज अधिकारी, लक्ष्मीदेवी श्रेष्ठ, गीता गुरुङ, माया श्रेष्ठ, मिना पोखरेल, दीपेन्द्र श्रेष्ठ, कञ्चनचन्द्र वादे, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, सुना परियार
छन् । संस्थापन इतरको कोइराला–थापा पक्षमा श्रीराम लामिछाने, उत्तम जोशी, सुरेश श्रेष्ठ, याङिला शेर्पा रुइत र शान्ता ढकाल देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*