चित्लाङ–थानकोट सडकमा १५ करोड बजेट

साझाकुरा
२०७९ पुष ८, शुक्रबार ०९:५६

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रको ‘समृद्धि ढोका’ भनेर चिनिने चित्लाङ–थानकोट सडक निर्माणमा अर्थ मन्त्रालयले थप १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।वर्षौदेखि अलपत्र रहेको चित्लाङ–थानकोट सडकलाई स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७९÷०८० थप १५ करोड बजेट बिनियोजन गरेको जनाइएको छ । थाहा नगरका मेयर विष्णुबहादुर विष्टले करिब पाँच दिनअघि अर्थ मन्त्री जनार्दन शर्मालाई भेट गरेर चित्लाङ–थानकोट सडक छिटो स्तरोन्नति गर्न थप बजेट माग गरेको जानकारी दिए ।

‘संघीय राजधानीसँग जोड्ने उपयुक्त सडक चित्लाङ–थानकोट हो । यसलाई समयमै सम्पन्न गर्न थप बजेट माग गरिएको थियो’, विष्टले भने । थाहा नगरपालिका र काठमाडौं जोड्ने चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) वर्षौंदेखि अलपत्र छ । अझै कामले पूर्णता पाउन नसकेको विष्टले बताए ।२०७३ सालमा सडक निर्माण सुरु गरेको ठेकेदार कम्पनीले बीचमा केही वर्ष काम नगरेपछि प्रदेश सरकारसमेतले एक्सन लिएको थियो । पछिल्लो एक वर्षदेखि चित्लाङ–थानकोट सडकमा काम भइरहेको छ ।

थाहा नगरपालिकाको निरन्तर दबाबका कारण मकवानपुरतर्फ धेरै प्रगति भएपनि काठमाडौंतर्फ भने लक्ष्यअनुसारको काम हुन नसकेको मेयर विष्टले बताए । कुलेखानी–मार्खु–चित्लाङ–थानकोट मार्ग करिब १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने समयावधि भएपनि काठमाडौंतर्फको सडक निर्माण गर्ने ठेक्का पाएको पीएस÷किराँतेश्वर जेभीले काम अलपत्र पारेको थियो ।

२२ दशमलब ५ किलो मिटरको उक्त मार्गको निर्माण कार्य हालसम्म ५० प्रतिशतमात्रै भएको थाहा नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि हालसम्म उक्त सडक योजनामा करिब ५० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको जनाइएको छ । नेपालको प्राचीन सडक अर्थात् पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि थाहा नगरपालिकाले निरन्तर चासो दिँदै आएको थाहाका निवर्तमान मेयर लवशेर विष्ट बताउँछन् । थाहाबाट एउटा डाँडो छिचोलेपछि करिब १ घण्टामै काठमाडौं पुगिन्छ ।

त्रिभुवन राजपथहुँदै नौबिसेबाट काठमाडौं जाँदा ३, ४ घण्टा बढी लाग्छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको थाहा र ईन्द्रसरोवरको पर्यटन क्षेत्रको विकासका लागि यो सडक छिटो निर्माण गर्न जरुरी रहेको निवर्तमान मेयर विष्टले बताए । त्रिभुवन राजपथ सञ्चालन हुनुपूर्व चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । सँस्कृति र इतिहासको अध्ययन गर्नेहरुका लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकासहुँदै गएको चित्लाङको नाम पहिले चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले पछि यसको नाम चैतलोङ रहन गएको थियो ।

पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत क्षेत्र छ । २३ सय वर्ष पुरानो चित्लाङमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जान चन्द्रागिरि डाँडो पार गर्दै चित्लाङ भएर जान्थे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौंमा गाडी बोकेर लैजाने गरेका थिए ।

काठमाडौंमा मोटर ल्याउन वीरगञ्जदेखि मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो । भीमफेदीबाट भने वरपरका गाउँका तन्नेरीहरुका सयौं काँध चढेर काठमाडौं भित्रिन्थे, मोटर । २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) निर्माण भएपछि मात्रै काँधमा गाडी बोक्न छाडिएको थियो । स्थानीयले वि.सं. २०१८ देखि २०२२ सम्म गाडी बोक्ने गोरेटोलाई जनश्रमदानबाट चित्लाङ–थानकोट मार्गको निर्माण गरेका थिए । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको हो । तर, हालसम्म पनि उक्त सडकमा नियमित सवारीसाधन गुड्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*