बागमतीमा पनि फेरियो दलहरुको समीकरण फेरि एमाले र माओवादीकै सरकार
हेटौंडा- मंसिर ४ मा सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग मिल्न पुगेपछि कांग्रेसले संघमा मात्र नभई बागमती सहित सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको हो । आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार नयाँ गठबन्धनको सरकार बनेको छ । संघमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समिकरण फेरिएको छ ।
पहिलाको गठबन्धन यथावत रहेको स्थितीमा बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने सम्भावना प्रवल थियो । तर, केन्द्रमा पूरा गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेसको सपना चक्नाचुर भएको छ । बागमती प्रदेशको पहिलो कार्यकालमा पनि सबैभन्दा पहिला एमाले र माओवादीको नेकपा नेतृत्वमा सरकार बनेको थियो । पाँच वर्षपछि प्रदेशसभाको दोस्रो कार्यकालमा पनि बागमती प्रदेशमा एमाले र माओवादीकै सरकार बन्ने भएको छ ।
गठबन्धनबाट कांग्रेस बाहिरिएसँगै ११० सदस्यीय बागमती प्रदेशमा एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ । यहाँ एमालेको २७, माओवादी केन्द्रको २१ र राप्रपाको १३ सांसद छन् । यी ३ दलको मत जोड्दा बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ६१ मत पुग्छ । जुन सरकार गठनको लागि पर्याप्त हो । गठबन्धन नै परिवर्तन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडबाट कांग्रेसको ईन्द्र बानियाँ र बहादुर सिंह लामा आउट भएका छन्
भने एमालेको जेएन थपलिया ईन भएका छन् । यी हुन् मुख्यमन्त्री बन्ने सम्भावितहरुबागमती प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा एमालेले हालसम्म संसदीय दलको नेता चयन गरेको छैन । संसदीय दलको नेता मुख्यमन्त्री बन्ने हुँदा एमाले बागमती प्रदेशमा अब बन्ने दलको नेता मुख्यमन्त्री बन्नेछन् । केहिबेर अघिसम्म प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिका निभाउने मनस्थितीमा रहेको एमालेमा दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने तयारी थियो । एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य जेएन थपलिया संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन हुने सम्भावना थियो । तर, अब एमाले सरकारमा सहभागी हुँदै सत्तापक्ष बनेपछि एमाले बागमती प्रदेशको दलको नेता बन्ने आकांक्षी पनि बढेको एमालेको सांसदहरु बताउँछन् ।
‘नेपालको नेतामा आकांक्षी बढ्न सक्नुहुन्छ’, एमालेको एक सांसदले भने । ती सांसदले अरु आकांक्षी पनि हुनसक्ने बताएको भएपनि एमालेमा मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा थपलिया नै देखिन्छन् । बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकारसमेत बनिसकेका थपलिया एमाले अध्यक्ष केपी ओलीको प्रिय पात्रसमेत हुन् । थपलिया मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा सदस्यमा निर्वाचन लडेको समेत चर्चा छ । प्रदेशसभाको तेस्रो दल रहेको नेकपा माओवादी केन्द्रमा भने दुईजना आकांक्षी छन् । माओवादी केन्द्रमा पनि संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न दुईजना दाबेदारको रुपमा देखिएका छन् । माओवादीको बागमती प्रदेशको संसदीय दलको नेता हुन शालिकराम जमकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनावसमेत हुन सक्ने सांसदहरूले बताएका छन् । यसअघि दलको नेता जमकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका छन् । पौडेल माओवादीको बागमती प्रदेश अध्यक्ष समेत रहेकाले उनी आफू दलको नेता बन्दै मुख्यमन्त्री बन्नुपर्ने बताउँछन् । प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेता, सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका जमकट्टेल दोस्रो कार्यकालमा आफूले मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरिरहेका छन् ।
१३ सदस्यसहित प्रदेश सभाको चौथो दल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभामा पहिलो पटक सत्तापक्ष बनेको छ । यसअघि पहिलो कार्यकालमा दुई जना समानुपातिक सांसद रहेको राप्रपा पाँच वर्ष प्रतिपक्षी दलको रुपमा
रहेको थियो । तर, प्रदेशसभाको दोस्रो कार्यकालमा दुई सिटलाई १३ बदलेको राप्रपा माओवादी नेतृत्वको गठबन्धनबाट सत्तापक्ष बनेको छ । केन्द्रमा सरकारमा सहभागी भएपनि प्रदेश सरकारका भने राप्रपा सहभागी नहुने भएको छ ।
प्रदेश संरचना खारेजीको माग उठाउँदै आएको राप्रपा प्रदेशमा सरकार बनाउन माओवादी नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा भने सहभागी नहुने राप्रपा बागमती प्रदेश अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य विक्रम थापा बताउँछन् । योसँगे ७ वटा दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा ४ वटा दल प्रतिपक्षीको भुमिकामा रहने भएको छ । ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी रहने भएको छ भने ७ सिट रहेको नेकपा एकिकृत समाजवादी, ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टी प्रतिपक्षी बन्ने भएको छ ।