बागमतीमा दलहरुलाई नेता छान्न हम्मेहम्मे
हेटौंडा- बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई संसदीय दलको नेता छान्नै हम्मेहम्मे परिरहेको छ । ४ मंसिरमा भएको निर्वाचनबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्न आएका दलहरुलाई संसदीय दलको नेता चयन गर्न मुस्किल परेको हो । दोस्रो कार्यकालको बागमती प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीको प्रतिनिध्तव छ । प्रदेशसभाको निर्वाचन सम्पन्न भएको डेढ महिना पुग्न लाग्दासम्म दलहरुले संसदीय दलको नेता छान्न सकेका छैनन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सानादेखी ठुला दलहरुलाई संसदीय दलको नेता छान्नै सकस परिरहेको हो । संसदमा रहेको दलहरुमध्ये विशेषगरि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई दलको नेता छान्न सकस परिरहेको छ । प्रदेशसभामा रहेका कुनैपनि दलले हालसम्म नेता चयन गर्न सकेको छैन । बागमती प्रदेशसभाको सबैभन्दा ठुलो दल बनेको सत्तारुढ गठबन्धनको घटक नेपाली कांग्रेसमा दलको नेता सर्वसम्मत रुपमा चयन हुन नसक्दा निर्वाचन नै हुने भएको छ । कांग्रेस संसदीय दलको नेतामा कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँको दावी छ ।
सस्ंथापन पक्षका यी दुवै नेता दावेदारीबट पछि नहटेपछि कांग्रेसले पुस १३ गते निर्वाचनबाटै संसदीय दलको नेता छान्ने भएको हो । निर्वाचनको प्रक्रिया भने १२ गतेदेखि सुरु हुने जनाइएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले निर्वाचन समितिसमेत गठन गरी प्रक्रिया सुरु गरिसकेको छ । पटक÷पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुक्र्याउने प्रयास असफल भएपछि समितिले निर्वाचनबाटै दलको नेता छान्ने निर्णय गरेको हो । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सानु श्रेष्ठ छन् । प्रदेशसभाको दोस्रो ठुलो दल एमालेले दलको नेता सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरेको छ ।
एमालेको केन्द्रिय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य जेएन थपलिया संसदीय दलको नेता बन्ने सम्भावना छ । उनीबाहेक एमालेमा अरुले खुलेर दावी नगरेको बुझिएको छ । पुस १४ गते बस्ने एमालेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने जनाइएको छ । प्रदेशसभाको तेस्रो दल समेत रहेको गठबन्धनको घटक माओवादी केन्द्रले पनि दलको नेता चयनका लागि मिति तोक्न सकेको छैन । माओवादीबाट दलको नेता बन्नको लागि दुईजनाले दावी गरिरहेका छन् । माओवादीले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको भएपनि शालिकराम जमकट्टेल र सरल सहयात्री पौडेल दुवै आफ्नो दावेदारीबाट पछि हटेका छैनन् । अन्तिम समयसम्म दुईजनामध्येक एकजनालाई ब्याक गराएर सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने माओवादीको तयारी छ । तर,दुवैजना पछि हट्ने सम्भावना नदेखिएको हुँदा माओवादीलाई दलको नेता छान्न सकस पर्ने देखिन्छ । माओवादीका सांसद युवराज दुलालको अनुसार पुसको १५÷१६ गते बस्ने दलको बैठकले सर्वसम्मत चयन गर्न नसके निर्वाचन गरेर दलको नेता छान्ने जानकारी दिए ।
प्रदेशसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दलको नेता छान्ने विषयमा खास चासो देखाएको छैन । राप्रपाले हालसम्म दलको नेता चयनको विषयमा छलफल नभएको बताइरहेको छ । राप्रपामा पनि दलको नेता चयन सहज नभएकोले बाहिर ल्याउन नचाहेको सोही पार्टीको सांसदहरु बताउँछन् । जसले गर्दा प्रदेशको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा संसदीय दलको नेताका लागि हालसम्म कुनै चर्चा चलेको छैन । राप्रपा बागमती प्रदेश समितिका एक नेताका अनुसार राप्रपाले शथपग्रहण अगाडि नै दलको नेता छान्ने तयारी भने आन्तरिक रुपमा गरिरहेको छ । गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने तयारी गरेको छ । ७ जना मात्रै प्रदेशसभा सदस्य रहेको समाजवादीले यसअघि दलको उपनेता भइसकेका कृष्ण प्रसाद शर्मा खनाललाई सर्वसम्मत रुपमा दलको नेत ाचयन गर्ने तयारी गरेको बुझिएको छ । यद्यपी पुस १४ गते प्रदेशसभा सदस्यहरुको शपथग्रहणपछि मात्रै दलको नेता को बन्ने भन्ने टुंगो लाग्ने उनै खनाल बताउँछन् ।
शपथग्रहणपछि मात्रै दलको बैठक बसेन नेता चयनको विषयमा छलफल हुने भन्दै उनले अरुको पनि दावी रहे नरहेको बैठकमा आउने बताए । नेमकिपाले पनि सांसदहरुको शपथ ताका नै दलको नेताको विषय टुंग्याउने भएको छ । सानो दल भएकाले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने तयारी रहेको सो पार्टीका सांसद सुरेन्द्रराज गोसाँई बताउँछन् । ३ जना प्रदेशसभा सदस्य रहेको नेमकिपाले पार्टीको निर्णय अनुसार दलको नेता छान्ने उनले जानकारी दिए । प्रदेशसभाको पहिलो कार्यकालमा पनि दलको नेता बनेका गोसाँई नै पुनः दलको नेता बन्न सक्ने जनाइएको छ । दुईजना प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीले पनि दलको नेता शपथ ग्रहणपछि चयन गर्ने भएको छ ।