हेटौंडाको वडा अध्यक्ष कपमा मिलनटोल टोविस विजयी

साझाकुरा
२०७९ पुष ११, सोमबार १२:५३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा भएको वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा मिलनटोल टोल विकास संस्थाले उपाधि जितेको छ ।३ नम्बर वडा कार्यालयको आयोजनामा ४ पुसदेखि भएको वडा अध्यक्ष कपको फाइनलमा मिलनटोलले दक्षिणकाली टोल विकास संस्थालाई पराजित गरेको थियो । उपाधि जितेको मिलनटोल टोविसले ३० हजार नगदसहित, ट्रफी, प्रमाणपत्र र मेडल पाएको छ । उपविजेता बनेको दक्षिणकाली टोल विकास संस्थालाई नगद १५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपाधि बिजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई वडा अध्यक्ष ढलकबहादुर थापा, वडा सदस्य रत्न बहादुर ब्लोन र वडा सदस्य हर्कबहादुर पाख्रिनले प्रदान गरेका थिए ।

वडाध्यक्ष ढकालले वडाभित्र खेलाडीहरुको पहिचान गर्न प्रतियोगिता गरिएको बताए । उनले वडास्तरीय प्रतियोगिता निरन्तर गर्न सके खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरे । क्षमतावान खेलाडीहरु उत्पादन भए ३ नम्बर वडाको पहिचान जिल्लाभर पुग्ने उनको भनाई छ । वडा सदस्य रत्नबहादुर ब्लोनले खेलकुद क्षेत्रको विकासका लागि वडा कार्यालयले आगामी दिनमा पनि बजेट व्यवस्थापन गर्दै जाने धारणा राखे ।प्रतियोगिताको समापन कार्यक्रममा मिलनटोल टोल विकास संस्थाका अध्यक्ष धनबहादुर घलान, दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा मगर, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले, वडा खेलकुद विकास समितिका अध्यक्ष भगवान बर्तौलाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*