जनकल्याणले जित्यो राष्ट्रपति रनिङशिल्ड

साझाकुरा
२०७९ पुष १२, मंगलवार ११:४९

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा भएको नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माविले जितेको छ ।जनकल्याणले १५ स्वर्ण, ९ रजत र ५ कास्य पदक जित्दै प्रतियोगितामा प्रथम भएको हो । अघिल्लो प्रतियोगितामा पनि जनकल्याणले उपाधि जितेको थियो । जनकल्याणले एथलेटिक्स र करातेमा प्रथम स्थान हासिल गरेको छ । एथलेटिक्सतर्फ सुनौला मावि दोस्रो तथा झम्केश्वरी मावि तेस्रो भएको छ । करातेतर्फ बज्रवाराही मावि दोस्रो तथा स्वच्छन्द भैरव मावि तेस्रो भएको छ । छात्रा कबड्डीमा जनकल्याण मावि प्रथम, मत्स्य
नारायण मावि दास्रो तथा इन्द्रायणी मावि र स्वच्छन्द भैरव मावि तेस्रो भएका छन् ।

छात्र कबड्डीतर्फ बज्रवाराही मावि प्रथम, इन्द्रायणी मावि दोस्रो र स्वच्छन्द भैरव मावि र बागेश्वरी मावि तेस्रो भए ।जनकल्याण माविले १५ स्वर्ण, ९ रजत, ५ कास्य बटुल्दा सुनौला माविले ५ स्वर्ण, ३ रजत र ४ कास्य बनायो । ४ स्वर्ण, ४ रजत २ कास्य बज्रवाराही माविले जितेको थियो । झम्केश्वरी माविले ४ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । नाट्यश्वरी माविले ३ स्वर्ण, २ रजतसहित ३ कास्य पायो । स्वच्छन्दभैरव माविले ३ स्वर्ण, १ रजत, ५ कास्य, बागेश्वरी माविले १ स्वर्ण, ९ रजत, ८ कास्य, मत्स्यनारायण माविले १ स्वर्ण, ३ रजत, १ कास्य, इअन एकेडेमीले १ स्वर्ण, १ रजत र १ कास्य, सुन्दरीदेवी माविले १ स्वर्ण र १ रजत, इन्द्रायणी माविले १ रजत १ कास्य पदक प्राप्त गरेको छ । सरस्वती विद्या मन्दिर, पालुङ भ्याली हार्ट र सरस्वती माविले कुनै पदक पनि जित्न सकेनन् ।
यसैगरी, सोमबार भएको पाचौँ मेयरकप भलिवलमा छात्र तर्फको उपाधि स्वच्छन्दभैरव माविले जितेको छ । स्वच्छन्दले फाइनलमा जनकल्याणलाई पराजित गर्दै उपाधि जितेको हो । भलिवलमा मत्स्य
नारायण माविले तेस्रो स्थान हात पारेको छ ।

स्वच्छन्दका इनेश बलामी उत्कृष्ट स्पाइकर, स्वच्छन्दकै प्रविण बलामी उत्कृष्ट लिफ्टर, जनकल्याणका सुदिप तामाङ उत्कृष्ट डिफेन्डर बन्न सफल भए । छात्रा भलिबलतर्फको उपाधि मत्स्यनारायणले जितेको छ । सुन्दरीदेवी माविले उपविजेतामा चित्त बुझाउँदा जनकल्याणले तेस्रो स्थान बनाउन सक्यो । मत्स्यनारायण माविकी निशा स्याङ्तान उत्कृष्ट खेलाडी,
रेविका स्याङ्तान उत्कृष्ट स्पाइकर र बिना घलान उत्कृष्ट सेटर चुनिए ।प्रतियोगितामा विजेता विद्यालय र विद्यार्थीलाई थाहा नगरपालिकाको प्रमुख बिष्णुबहादुर बिष्टले शिल्ड, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।

थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको सभाध्यक्षतामा भएको समापन समारोहमा थाहा नगर शिक्षा समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, बज्रबाराही माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामी, संस्थापक अध्यक्ष कृष्णभक्त श्रेष्ठलगायतको आतिथ्यता थियो ।
थाहा मेयर बिष्टले स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको मेयर बिष्टले बताए । प्रतियोगितामा नगरपालिकास्थित १४ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको व्यवस्थापन बज्रवाराही माविले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*