मौरीपालनले फेरिँदै चेपाङको दैनिकी

श्रीजना नेपाल
२०७९ पुष १३, बुधबार १२:२५

हेटौंडा-पछिल्लो समय मकवानपुरको राक्सिराङ गाउँपालिका–५ जिर्खिडाँडाको चेपाङ समुदायको दैनिकी फेरिएको छ ।  मकवानपुरको कर्णाली भनेर चिनिने दुर्गम राक्सिराङ गाउँपालिकाका सिमान्तकृत चेपाङ समुदाय पछिल्लो समय गाउँमै आत्मनिर्भर बनिरहेका छन् । गिठ्ठा भ्याकुर र कन्दमुलसँगै बारी उब्जाउ हुने धेरथोरै अन्नपातबाट कष्टकरपूर्ण जीवनयापन गरिरहेका चेपाङ समुदाय व्यावसायिक बन्दै गएका छन् । बेरोजगारीको मारमा पिल्सिरहेका उनीहरुलाई नारी सीप सिर्जना केन्द्र मकवानपुरले आत्मनिर्भरताको बाटोमा डोहोर्याएको हो । केन्द्रले उक्त स्थानको चेपाङ समुदायलाई मौरीपालनसम्बन्धी तालिम मात्रै दिएन, व्यावसायिक रुपमा मौरीपालन गर्न घारसहितको मौरीसमेत उपलब्ध गरायो । जसले गर्दा राक्सिराङका चेपाङहरु मौरीपालनबाट आत्मनिर्भर बनेका छन् ।

जिर्खिडाँडाकी कृष्णमाया प्रजा घरमा मौरीपालन गर्न थालेदेखी बिहान बेलुका के खाने भन्ने तनावबाट मुक्त भएकी छिन् । गत वर्षसम्म बिहान बेलुकाको छाक टार्न जंगलदेखी खोलानाला धाउनुपर्ने बाध्यतामा रहेको आफू मौरीपालन गर्न थालेदेखी खान लाउनको समस्याबाट मुक्त भएको बताउँछिन् । उनको थोरै जग्गाजमिन नभएको पनि होइन । तर,त्यहाँबाट उत्पादित अन्नले ६ महिना पनि खान पुग्दैन । त्यसैले छाक टार्नैको समस्या उनीहरुको परिवारमा थियो । तर, नारी सीप सिर्जना केन्द्रले छोरालाई मौरीपालनको तालिम दिएदेखि घरमा भोकमरीको समस्याको अन्तय भएको प्रजा बताउँछिन् ।‘हामीलाई खेतबारीमा उत्पादन गरेको अन्नले खान पुग्दैनथ्यो ।

त्यसैले बिहान खाए बेलुका के खाने भन्ने समस्या हुन्थ्यो । तर, नारी सीप सिर्जना केन्द्रले मेरो छोरालाई मौरीपालनको बारेमा तालिम दिएर मौरी पनि दिएपछि हाम्रो नुनतेल खाने बाटो सजिलो बनेको छ’, उनले भनिन् । केन्द्रले छोरालाई तालिम दिएपछि नै उनको परिवारले पहिलोपटक मौरीपालन गर्न मिल्छ र यसबाट आम्दानी पनि हुन्छ भन्ने थाहा पाएका थिए । नारी सीपले मौरीलाई कसरी समात्ने, कसरी राख्ने, कसरी घारमा राख्ने र उनीहरुको ख्याल कसरी गर्ने भन्ने विषयमा तालिम दिएको उनले बताइन् । ‘छोराले तालिम सिकेर मौरीको १० वटा घार बनायो । त्यसपछि हामीले छोराबाट सिकेर घरमै पनि घार बनायौ । नारी सीपले हामीलाई आफै गरेर खाने बाटो दियो,एकदमै खुशी छौ’, उनले सुनाइन् । प्रजाले ७ सय रुपैयाँ प्रतिकिलोको हिसाबले आफूहरुले मह बेच्ने गरेको बताइन् । मह मौरीको चाँखबाट निचोरेको र ननिचरेको गरी दुई प्रकारले बिक्री गर्ने गरेको उनको भनाई छ ।

सोही स्थानका सोभरसिंह प्रजाले मौरी पालन थालेको त धेरै भयो । तर, यस सम्बन्धी आवश्यक ज्ञान नहुँदा उनले व्यावसायिक रुपमा मौरीपालन गर्न सकेका थिएनन् । घरमा खानको लागि मात्रै धेरथोरै मह उत्पादन गर्ने गरेका उनले अहिले वार्षिक रुपमा ३ लाख रुपैयाँ भन्दा बढि मौरीपालनबाट आम्दानी गरिरहेको बताए । ‘मैले मौरीपालन गर्न थालेको त अगाडिबाटै हो । तर, व्यावसायिक रुपमा गर्न नसक्दा घरमा आम्दानीको कुनै स्रोत थिएन’, उनले भने ‘नारी सीप सिर्जना केन्द्रले मौरीपालनसम्बन्धी तालिम दिएपछि यसलाई मैले आफ्नो व्यवासय बनाएर आम्दानी गर्न थाले ।’मौरीपालनलाई व्यावसायिक बनाएसँगै उनको परिवारमा आर्थिक समस्या समाधान हुँदै गएको प्रजा बताउँछन् ।

मौरीले उत्पादन गर्ने मह बिक्री गरेर घरको भान्छादेखी छोराछोरीको पढाई खर्चसम्म चल्ने गरेको उनले बताए । गाँईवस्तु भन्दा पछि मौरीपालन व्यवसाय निकै सजिलो भएको उनको भनाई छ । मौरीलाई घार बनाएर राखेपछि फूलको रस चुस्न दिए हुने तर, गार्इँवस्तुलाई घाँसपानीदेखि धेरै कुरामा ख्याल गर्नुपर्ने भएकोले मौरीपालन व्यवसाय सहज सरल भएको उनी बताउँछन् । ‘ मौरीलाई धेरै हेरचाह गर्नुपर्दैन । वनको फूलको रसबाट आफैंले सन्तान वृद्वि गर्ने र मह उत्पादन गर्ने गर्छ । महिनामा ४ पटक मह काट्ने गरिन्छ । एउटा घाटबाट एकैपटक ५ केजीसम्म मह काट्न सकिन्छ । मौरीपालन गर्न जानेदेखि सजिलैसँग आम्दानी गर्न सकिन्छ’, प्रजाले भने । उनले पहिला आफूसँग ४÷५ घार मात्रै मौरी रहेकोमा नारी सीपले तालिम दिँदै मौरीसहितको घार उपलब्ध गराएपछि मौरीपालनबाट आफ्नो आत्मनिर्भरताको बाटो खुलेको बताए । प्रजाले महत भन्दा पनि गोलामा नै बिक्री गर्दा सजिलो र एकैपटकधेरै आम्दानी गर्न सहज हुने बताए । उनले वार्षिक रुपमा ९ सय गोला मह बिक्री गर्ने गरेको बताए । त्यसबाट मह करिव एक क्विन्टलसम्म बिक्री गर्ने गरेको उनको भनाईछ ।

एक गोला महको तीनहजार रुपैयाँ पर्ने गरेको उनले बताए । घरमै बसेर व्यावसायिक रुपमामौरीपालन गर्दै आम्दानी गर्न सिकाएकोमा केन्द्रलाई उनले धन्यवाद् समेत दिए । कृष्णमाया र शोभरसिंह त उदाहरण मात्रै हुन् । पछिल्लो केहि समययता जिर्खिडाँडासहित राक्सिराङको विभिन्न स्थानको चेपाङ समुदायहरुको लागि मौरीपालन राम्रो आम्दानीको स्रोत बनेको छ । तालिम नै लिएर उनीहरु मौरीपालन गरेर आत्मनिर्भर बनिरहेका छन् । गाउँमै पुगेर नारी सीपले तालिम दिएपछि उनीहरुलाई व्यवसाय गर्न सहज भएको छ । उनीहरुले उत्पादन गरेको मह मकवानपुरसँगै छिमेकी जिल्ला चितवन हुँदै विभिन्न स्थानमा पुग्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*