कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आज
हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन आज बुधबार हुँदैछ । सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन मार्फत दलको नेता चयन गर्न लागिएको हो । बागमती प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा ३७ जना सांसद छन् । प्रदेशसभाको पहिलो कार्यकालमा २१ जना मात्रै सांसद रहेको कांग्रेसले दोस्रो कार्यकालमा ३७ सांसदसहित उत्कृष्ट कमब्याक गरेको हो ।
संसदीय दलको नेता चयन गर्न गठित समितिले दलको नेता चयनको बुधबार निर्वाचन गर्न लागेको जनाएको छ । चन्द्र महर्जनको संयोजकत्वमा रहेको समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।समितिले पुस आज बुधबार २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ । संसदीय दलको नेता निर्वाचन सम्बन्धी कार्यक्रमअन्तर्गत मंगलबार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो ।
मंगलबार नै दिउँसो २ देखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) को समय दिइएको थियो । निर्धारित समयमा मतदाता नामावलीमा कसैको पनि दावी विरोध नपरेपछि अन्तिम नामावली प्रकाशन भइसकेको छ ।बुधबार बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त (मनोनयन)को समय राखिएको छ । समितिले मतदानका लागि आफू निर्वाचित भएको प्रमाणपत्र अनिवार्य गरेको छ । निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने समितिले जनाएको छ । मतगणना समाप्त भएपछि मतगणनाको नतीजा घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ ।
समितिको सदस्यहरूमा राजु श्रेष्ठ, ऋषिराम घिमिरे, गंगा दाहाल र सानुकान्छा श्रेष्ठ रहेका छन् । संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दावी गरिरहेका छन् । दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । कांग्रेसको प्रदेशसभामा ३७ सिट छ । कांग्रेसले प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट प्राप्त
गरेको थियो ।