चौकीटोल भाटभटेनीलाई साढे २ लाख जरिवाना

साझाकुरा
२०७९ पुष १३, बुधबार १२:४१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२, चौकीटोल स्थित भाटभटेनी सुपर मार्केटलाई सरकारी अनुगमन समितिले साढे दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
पछिल्लो समय जिल्लामा अनुगमन समिति सक्रिय भएपछि उपभोक्तालाई ठगी गरेको देखिएमा कडा कारबाही गरिँदै आएको छ । केही दिनअघि बागमती गाउँपालिका स्थित फापरबारी बजारको एक मेडिकललाई पनि एक लाख रुपैयाँ जरिवाना लगाइएको थियो । उपभोक्तामाथि ठगी गर्नेलाई ठूलो रकमको कारबाही गरिएको घटनाले अनुगमन समितिलाई नागरिकहरुले प्रशंसा गरेका छन् । उनीहरुले यसअघि भएका अनुगमन कागजमै सीमित हुने गरेको र पछिल्ला दिनमा भइरहेका अनुगमन वास्तविक अनुगमन भएको भन्दैमा सरोकारवाला निकायहरुको प्रशंसा भइरहेको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा पछिल्लो समय जिल्लामा अनुगमन प्रभावकारी बन्दै गइरहेको छ । उनै कँडेल नेतृत्वको अनुगमन टोलीले चौकिटोलमारहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।अनुगमन टोलीले भाटभटेनीबाट बरामद गरेका खाद्य वस्तुहरु बिक्री वितरणमा पनि रोक लगाएको छ । टोलीले भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोसन शिलबन्दी गरेको छ ।

अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले जानकारी दिए । भाटभटेनी सुपर मार्केटको हेटौंडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरु बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए ।

अनुगमन टोलीले पुनः प्याकिङ गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट ट्रेडिङ कर्पोरेसनको आयो नुन र उत्पादन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको जनाइएको छ । भाटभटेनीबाट न्यास्लेको कफीको उल्लेखित मूल्यभन्दा बढीको बिलबिजक जारी गरी बिक्री गरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए । अनुगमन टोलीले प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन ०७६ को दफा ६० को खण्ड (ज) अनुसार कसुर गरेको भन्दै उक्त जरिवाना तोकेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*