बागमती प्रदेश ५७ रनले पराजित

साझाकुरा
२०७९ पुष १३, बुधबार १३:३४

हेटौंडा- बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले पराजितगरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो ।

बागमती प्रदेशले जवाफमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनाउन सक्यो । बागमतीका लागि विन्दा कट्वाल र खुशी डङगोलले सबभन्दा बढी १८–१८ रन बनाए ।यसैगरी मेलिसा गुरुङले १७, सलिना सिलवालले १५ र अस्मिता खरेलले १५ रनको योगदान दिए । हङकङकी इमान चाइले दुई तथा कारेन पुमले एक विकेट लिए । घरेलु टिमका पाँच ब्याटर रनआउट भएका थिए ।

यसअघि, हङकङको पालिमा लेमन छुङले ३१ बलमा छ चौकासहित सर्वाधिक ४० रन बनाएर आउट भइन् । लेमन नै सर्वश्रेष्ठ खेलाडी घोषित भएकी छन् । यसैगरी बेटी चानले २७ बलमा चार चौकासहित ३३ रनको उपयोगी पाली खेलिन् ।प्रारम्भिक ब्याटरद्वय इमा चाइले १५ र केरी चानले २६ रनको योगदान गरे । सो पालीमा बागमतीकी सोनी पाख्रिन र मेलिसाले दुई–दुई तथा अस्मिना कर्माचार्य र खुशीले एक–एक विकेट हात पारे ।

यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृंखलामा हङकङले अग्रता बनाएको छ । यसअघि बागमतीले ४० ओभरको दुई खेलको २–० ले जितेको थियो । दोस्रो खेल बिहिबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*