ओली–प्रचण्ड सहमतिको ड्राफ्टः एमालेलाई बागमती

साझाकुरा
२०७९ पुष १४, बिहीबार ११:२८

हेटौंडा- गठबन्धनको समीकरण फेरिएसँगै बागमतीमा कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने विषय अहिले चर्चाको विषय बनेको छ ।
देशका सात प्रदेशमध्ये चासोको रुपमा हेरिने बागमती प्रदेश गठबन्धनभित्र लाग्ने भागबण्डाको विषयमा चार्चा भइरहेको छ । यही चर्चाबीच बागमती प्रदेश एमालेले पाउने गरी गठबन्धनका मुख्य दुई शिर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको ड्राफ्ट बनेको चर्चा भइरहेको हो ।

प्रचण्ड र ओलीबीच प्रदेश भागवण्डाको मोटामोटी सहमति भएको जनाइएको छ । उक्त सहमतिले अन्तिम रुप भने दिइनसकेको ओली निकट बागमती प्रदेशका एक सांसदले जानकारी दिए ।निर्वाचनकै बेलाको बाम–लोकतान्त्रिक गठबन्धन कायम भएको अवस्थामा बागमती नेपाली कांग्रेसले पाउने लगभग पक्का जस्तै थियो । तर, पुरानो गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि एमालेलगायतका ७ दलको नयाँ गठबन्धन बनेकाले बागमती प्रदेशमा एमाले वा माओवादी केन्द्रले नेतृत्व गर्ने भएको हो ।

एमाले २७ सिटसहित बागमती प्रदेशको दोस्रो ठूलो दल हो । ३७ सिट रहेको कांग्रेस प्रदेशसभाकै सबैभन्दो ठूलो दल हो भने नेकपा माओवादी केन्द्र २१ सिटसहित तेस्रो शक्ति हो । प्रदेशसभामा १३ सहित रहेको राप्रपा चौथो र ७ सिटसहित नेकपा (एकीकृत समाजवाजी) पाँचौ शक्ति हो ।
बागमतीमा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये हाल सरकारमा एमाले, माओवादी केन्द्र र राप्रपा छन् । यी तीन दलको सिट ६१ रहेकाले बागमतीमा सरकार बनाउन पर्याप्त सिट रहेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट भए पुग्छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन नगरेको अवस्थामा बागमतीमा यी तीन दलको सरकार बन्ने पक्का छ । प्रदेशहरुमा सरकार गठनका लागि भइरहेको जोड घटाउ र भागबण्डा लगाउने उद्देश्यले बुधबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड निवासमा एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्तामा कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्नेबारेमा सहमति भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार एमालेले चारवटा प्रदेश सरकारको नेतृत्व गर्नेछ भने माओवादी केन्द्रले दुई प्रदेशको नेतृत्व गर्नेछ । दुई अध्यक्षबीच भएको बुधवारको भेटघाटमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने र बागमती, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ एमालेले नेतृत्व गर्ने सहमतिको ड्राफ्ट बनेको जनाइएको छ । नेताहरुका अनुसार लुम्बिनी माओवादीले नलिएको अवस्थामा बागमतीमा दाबी गर्ने जनाइएको छ । सुदुरपश्चिमपछि लुम्बिनी र बागमतीमा माओवादीको दाबी रहने जनाइएको छ । लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीले भाग पाए माओवादीले बागमतीमा दाबी गर्ने जनाइएको हो ।

१ नम्बर प्रदेश, गण्डकी र कर्णालीमा एमालेको दाबी रहेको थियो भने बागमतीको हकमा टुंग्गिएको थिएन् । प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेल मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । उनीहरु पार्टी स्थायी कमिटी सदस्य भएकाले पनि मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा हेरिएको छ । बागमतीमा मुख्यमन्त्रीको दाबेदार एमालेबाट जगन्नाथ थपलिया (जेएन) रहेका छन् । सम्भवतः आज शुक्रबार हुने संसदीय दलको चुनावबाट उनी नै सर्वसम्मत दलको नेता चयन हुने सम्भावना छ ।

माओवादी केन्द्रका सचिव डिलाराम आचार्यका अनुसार ओली र प्रचण्डबीच सहमतिको प्रयास भइरहने पनि अन्तिम निर्णय भने भइनसकेको जानकारी दिए । प्रदेश १ मा माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समिति नै बनाएको छ । ओली र प्रचण्डले जसपा पनि सरकारमा आए मधेस प्रदेशमा जसपा र जनमत पार्टीलाई आधा–आधा कार्यकाल दिने सहमति गरेका छन् । जसपा वा जनमत पार्टीले महेश प्रदेशको आधा–आधा कार्यकाल पाए लुम्बिनी माओवादी वा एमालेमध्ये एकले रोज्न सक्नेछन् ।

लुम्बिनीमा एमाले र माओवादी बाहेकको दलले दाबी गरेमा बागमती माओवादीलाई पर्ने पनि देखिन्छ । बागमती प्रदेशको नेतृत्व गर्न पाउने सम्भावना बढी रहेकाले माओवादीबाट पनि मुख्यमन्त्रीका पाँच दाबेदार देखिएका छन् । माओवादी केन्द्रको बागमती प्रदेशस संसदीय दलको नेतामा पाँच जना सांसदहरुले दाबी गरेका छन् । माओवादीले १५ र १६ पुसमा संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ । माओवादीबाट शालिकराम जम्मकट्टेल, सरल सहयात्री पौडेल, युवराज दुलाल, गंगानारायण श्रेष्ठ र राधिका तामाङले संसदीय दलको नेतामा दाबी गरेका हुन् ।

जसमध्ये प्रदेशसभाको पहिलो कार्यकालमा जम्मकट्टेल दुई पटक र दुलाल एक पटक मन्त्री भइसकेका छन् । तामाङ पाँच वर्ष नै उपसभामुख थिइन् । श्रेष्ठ र पौडेलका लागि प्रदेशसभा पहिलो अनुभव हुनेछ । संसदीय दलको नेतामा पाँच जनाले दाबी गरे पनि दलको नेतामा जम्मकट्टेल र पौडेललाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । जम्मकट्टेल यसअघि संसदीय दलको नेता थिए । पौडेल भने पार्टीको प्रदेश अध्यक्ष हुन् । यी दुवै नेताले संसदीय दलको नेता हुन लबिङ गरिरहँदा अन्य तीन नेताले पनि दाबी गर्न थालेका हुन् । सांसद तामाङले पनि संसदीय दलमा आफ्नो दाबी
रहेको बताएकी छन् ।

त्यस्तै संसदीय दलमै दाबी गरेका श्रेष्ठ भने माओवादी केन्द्रका नभएर डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता हुन् । तर, नेसपाले यसपटक माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो । सोही कारण श्रेष्ठले संसदीय दलमा दाबी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*