प्रदेशसभाका ज्येष्ठ सदस्यद्वारा शपथग्रहण
हेटौंडा, १३ पुस÷ बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथग्रहण गरेका छन् । ढुंगनालाई बुधबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका हुन् । उनको उमेर ७२ वर्ष रहेको छ । उनको जन्म विसं २००६ साल असोज २ गते भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभामा निर्वाचित ढुंगनाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नेछन् ।
बुधबार शपथग्रहण गरेका ढुंगाले भोलि प्रदेशसभाका नवनिर्वाचित अरु सांसदलाई शपथ ग्रहण गराउनेछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशको ज्येष्ठ सदस्यले सभाका अन्य सदस्यलाई शपथग्रहण गराउनेछन् । अन्य सांसदहरूको शपथग्रहण प्रदेशसभा सचिवालयमा हुनेछ ।
पुस १७ गतेको लागि संसद बैठक आह्वान भइसकेको छ। उक्त अधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्नेछन् । प्रदेश सभाको उक्त अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचनको कार्यक्रम तय गर्नेछ ।
प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।