हेटौंडाको बजेट आकार बढ्यो, ३ अर्ब ५ करोड स्वीकृत

साझाकुरा
२०७९ पुष १५, शुक्रबार ११:४४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको बजेटको आकार ६ महिनामै बढेको छ । उपमहानगरले बिहीवार १२ औं नगरसभाबाट बजेट संशोधन गर्दै बजेटको आधार बढाएको हो । गत २० असारमा ११ औं नगरसभाबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट ल्याएको उपमहानगरले हाल ३ अर्ब करोड ५ करोड पु¥याएको हो । संसोधित बजेट नगरसभाले सर्वसम्मत स्वीकृत गरेको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

२०७९÷०८० को नीति तथा कार्यक्रम एवम् बजेट समिक्षासहितको संशोधित बजेट माग र आवश्यकताका आधारमा बजेटको आकार वृद्धि भएको प्रस्ताव गरिएको थियो । सरकारबाट आउने कर्मचारी, आन्तरिक करार कर्मचारीको तलब भत्ता सञ्चालन खर्च, नगरकार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम महशुल भुक्तानी, इन्जियरिङ कलेज सञ्चालन सहित माग भइआएका थप बजेट र अन्य आवश्यक कार्यक्रमहरुका लागि आन्तरिक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्व ५ करोड पु¥याइएको हो । १२ औं नगरसभा बैठकमा नगर सभाका उपाध्यक्ष तथा उपमहानगरका उपमेयर राजेश बानियाँले संशोधित बजेट प्रस्तुत गरेका थिए ।

उपमहानगरले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधीमा आयतर्फ संघीय सरकार समानिकरण तथा सशर्त अनुदानतर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाडफाँड तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक श्रोत कर, राजश्व श्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको नगर सभाका उपाध्यक्ष बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगरको खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पुर्वाधार विकासतर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकासतर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकासतर्फ २ करोड ४० लाख ६४ हजारसमेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपैयाँ गरेको जनाइएको छ । पछिल्लो ६ महिनाको अवधिमा अधिकाशं क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु सम्झौता भई कार्यान्वयनको क्रममा रहेकाले खर्च मुक्तानी नभइरहेको हुँदा क्षेत्रगत खर्चमा कमी देखिएको प्रतिवेदनमा उल्लेख छ । आउँदो असार मसन्तसम्मको अवधिमा खर्च विवरणमा उल्लेख्य प्रगती हुने बताईको छ ।

४८ वटा योजना सम्पन्न

नगर सभामा प्रस्तुत प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको स्वीकृत २ सय ५८ योजना मध्ये ४८ वटा सम्पन्न भएको र २ सय १० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक बर्ष २०७८÷०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् । पुर्वाधार बिकास कार्यक्रमको भौतिक प्रगती तर्फ प्रथम चौमासिकमा कंक्रिट सडक ३ किलोमिटर, कल्र्भट ४ वटा, शैक्षिक पुर्वाधार तर्फ १, गुम्वा निर्माणमा ३, मन्दिर निर्माणमा १० र ४ वटा पार्क निर्माण सम्पन्न भएको उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ । सडक पुवाधारतर्फ ५६ र अन्य १८ वटा योजना सम्पन्न भई सडकतर्फ ८ किलोमिटर स्ल्याब ढलान सम्पन्न भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठान विधेयक र ऐन परिमार्जन
१२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य सेवा विद्येयक–२०७९, हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विद्येयक–२०७९ सर्वसम्मतीले पास गरेको छ । उपमहानगरले विगतमै बनेर कार्यान्वयनमा रहेका ऐनलाई परिमार्जन गरी पास गरेको छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ समेत पास गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको मेयर मिनाकुमारी लामाका प्रेस सल्लाहकार राजन दाहालले जानकारी दिए ।

उपमहानगरपालिकाको प्रमुख मिनाकुमारी लामाको सभाध्यक्षतामा भएको नगरसभाको सचिव प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको आतिथ्यता रहेको थियो । २०७९ मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभामा निर्वाचित भएका सांसदहरुलाई हेटौंडा उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । १२ औं नगर सभाको सन्दर्भ परेर उपमहानगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधिको सम्मान र दोश्रो
चरणमा सभा सञ्चालन गरेको थियो ।

उपमहानगरपाकिलाको बिकासका लागि एक्येबद्धता खोज्दै गरिएको स्वागत तथा सम्मानमा प्रतिनिधिसभा सदस्य महेशकुमार बतौंला सहित बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित इन्द्रबहादुर बानियाँ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी र समानुपातिकका भारती पाठक र लक्ष्मी कुमारी श्रेष्ठको आतिथ्यता रहेको थियो ।

उपमहानगरको स्वागत तथा सम्मानमा पुगेका उनीहरुले सुन्दर र स्वच्छ हेटौंडा निर्माणका लागि सदब सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाएका थिए । निर्वाचित जनप्रतिनिधिहरुलाई उपमहानगरका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले खादा तथा माला लगाउँदै सम्मान र स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*