माओवादी बागमती संसदीय दलको नेतामा जुटेन सहमति

साझाकुरा
२०७९ पुष १६, शनिबार ०८:२७

हेटौंडा काठमाडौंमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा सहमति जुट्न सकेन ।शुक्रबार भएको बैठकमा दलको नेताका लागि आकांक्षीहरु ५ जनासम्म देखिएपछि सहमति जुट्न नसकेको जनाइएको छ । सर्वसम्मतिमै दलको नेता चयन गर्ने पहिलो प्रयास सफल हुन नसकेको हो । बैठक आज १ बजेका लागि पुनः बोलाइएको छ । बागमतीमा नेपाली कांग्रेसले निर्वाचनबाट, नेकपा एमाले र राप्रपालगायत दलले सर्वसम्मतिबाट दलको नेता चयन गरिसकेका छन् । तर, माओवादीमा दलको नेताका लागि आकांक्षीहरु धेरै देखिएपछि सहमतिको लागि प्रयास जारी राखिएको छ ।

सहमित जुट्न नसकेको प्रदेश सांसद् युवराज चौलागाईले जानकारी दिए । सकभर सहमतिमै दलको नेता टुंग्याउने भावना धेरैको भएकाले सहमति खोज्ने प्रयास सुरु भएको उनले बताए । मकवानपुरबाट निर्वाचित सांसद् प्रेमबहादुर पुलामीले बैठकमा सहभागी नेताहरुले पहिलो दिन धारणामात्रै प्रस्तुत गरेको जानकारी दिए । उनले पहिलो दिन नेताहरुको धारणा प्रस्तुत भएको र आज शनिबार हुने बैठकले दलको नेता चयन गर्ने बताए । शुक्रबारको बैठकमा प्रदेश सरकारमा जाँदा पार्टीको भूमिका, सरकारमा लिने भागबण्डाको विषयमा धेरै छलफल भएको बताए ।

माओवादीभित्र दलको नेताको लागि आधा दर्जन बढी नेताले इच्छा देखाएपछि सहमतिको सम्भावना न्यून बन्दै गएको जनाइएको छ । सहमति नै हुन नसकेमा निर्वाचनबाट भएपनि दलको नेता चयन गरिने जनाइएको छ । काठमाडौंमा जारी बैठकमा दलको नेताको लागि पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेल, माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल
‘शरद’, प्रदेशसभाको पूर्वउपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठसहित आधा दर्जन नेताहरुले इच्छा देखाएको बताइएको छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा दलको नेता जम्मकट्टेल र उपनेता कुमारी मोक्तान थिइन् । दलको नेतामा प्रतिस्पर्धा गरिरहेका मध्ये जम्मकट्टेल तत्कालीन नेकपा सरकार हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री र पछि नेकपा (एकीकृत समाजवादी) को नेतृत्व सरकार रहँदा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । दुलाल र मोक्तान सामाजिक विकास मन्त्री भइसकेका छन् । पौडेललगायतका अन्य सांसद्हरु पहिलोपटक प्रदेशसभा प्रवेश गरेका छन् ।

बागमतीमा माओवादीबाट कूल २१ सांसद् छन् । बागमती प्रदेशको हकमा माओवादी पार्टी भाग्यशाली बनेको छ । पहिलो कार्यकालमा पार्टी टुटफुटको स्थितिमा पनि प्रतिपक्षमा बस्नु परेको थिएन । हाल गठबन्धन टुट्दा पनि सरकारमै सहभागी हुने भएको छ । बागमतीमा सरकारको नेतृत्व माओवादीले पाउनेबारे चर्चा भइरहेको छ । तर, बागमतीमा एमाले र राप्रपाले पनि दाबी गरेका छन् ।
राप्रपाको समर्थन नभई बागमतीमा सरकार बन्ने अवस्था भने छैन । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट चाहिन्छ । हालको गठबन्धनको एमाले, माओवादी र राप्रपासँग मात्रै ६१ सिट छ । एमालेसँग २७ र राप्रपासँग १३ सिट रहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*