मासु उत्पादनमा बागमतीका पोल्ट्री व्यवसायको ६९ प्रतिशत योगदान

साझाकुरा
२०७९ पुष १७, आईतवार १०:००

हेटौंडा- बागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान ६० प्रतिशत रहेको जनाइएको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दशौँ पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । मन्त्रालयको प्रतिवेदनअनुसार बागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याड्ढ सार्वजनिक गरेको छ । जसमा बागमती प्रदेशमा एक लाख १३ हजार चारसय ३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ ।

प्रदेशमा कूल अण्डा उत्पादन आठ लाख ९९ हजार तीनसय ३५ ओटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिए अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कूल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ । मकवानपुर जिल्लामा मात्र वार्षिक छहजार सातसय ७१ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिक २१ लख ३० हजार कुखुरा तथा चार हजार तीनसय हाँस गरी जम्मा २१ लाख ३४ हजार सातसय ३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार पाँचसय ओटा अण्डा उत्पादन हुने गरेको छ ।

मन्त्रालयका डा. निशान्त शर्मा गेलालले प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरेर सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकरी दिए । प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश–२०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको वाग्मती प्रदेश सरकारले किसानलाई लक्षित गरेर पाँच करोड रुपैयाँको बजेट छुट्याएर स्थायी क्षतिपूर्ति कोषसमेत स्थापना गरी सञ्चालन गरिएको उनले बताए । किसानहरुको वर्गीकरण गरेर परिचयपत्र वितरण गरिने र उत्पादित वस्तुको बजार उपलब्ध गराउनुपर्नेसमेत डा. गेलालको भनाइ छ । भेटेरिनरी अस्पताल मकवानपुर हेटौंडाका प्रमुख डा. ब्रजकिशोर ठाकुरले प्रदेशभित्र दानाको परीक्षण र गुणस्तरसम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्ने बताए ।

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले मकवानपुरमा पोल्ट्री व्यवसायीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले विगतमा मकवानपुरमा तीन हजार पोल्ट्री व्यवसायी रहेकामा अहिले घटेर एक हजारमात्र रहेको जानकारी दिए । किसानले उत्पादन र लगानी गरेको आधारमा बजार मूल्य नपाएको बताउँदै पोल्ट्री व्यवसायसँग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आउनुपर्ने धारणा व्यक्त गरे । दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा कृषि मन्त्रालय र पोल्ट्री व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*