हेटौंडा राष्ट्रिय भेट्रान्स फुटबलको तयारी पूरा

साझाकुरा
२०७९ पुष १८, सोमबार १२:०१

हेटौंडा-हेटौंडामा भोली मंगलबार १९ पुसदेखि हुन लागेको आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।हेटौंडा भेट्रान्स क्लबको आयोजनामा पुस १९ गतेबाट २३ गतेसम्म हेटौंडा–५, पिप्लेस्थित क्याम्पापिप्ले रंगशालामा प्रतियोगिता गर्न लागिएको क्लबका महासचिव कविन सांगामीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी पूरा भइसकेको छ । सांगामीले प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाउने पक्कापक्की भएको बताए । गण्डकी प्रदेशका पूर्वखेलकुद मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेको टिम एमएमसी काठमाडौं पनि प्रतियोगितामा सहभागी हुने महासचिव सांगामीले जनाए ।

गुरुङले केही दिनअघि पोखरा रंगशालामा गण्डकी–११ बाटस्पेनिस क्लबसँग मैत्रीपूर्ण खेल खेलेका थिए ।आयोजकले प्रतियोगितामा करिब २० वटा टोलीको सहभागिता रहने अपेक्षा गरेको थियो । मकवानपुर, चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका क्लबहरु सहभागी हुने सांगामीले जानकारी दिए । आयोजकले भारत र बंगलादेशबाट पनि क्लब ल्याउन भूमिका खेलेको थियो । प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडीहरुसमेत सहभागी हुने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार, उपविजेताले ५५ हजार ५ सय
रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । आयोजक क्लब अध्यक्ष रमेशकुमार उप्रेतीका अनुसार प्रतियोगितामा करिब १४ लाख ९६ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त हुने अध्यक्ष उप्रेतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*