मकवानपुरमा आयुर्वेदिक उपचारप्रति विश्वास बढ्ेको दाबी

साझाकुरा
२०७९ पुष २०, बुधबार ०९:१८

हेटौंडा-आयुर्वेद स्वास्थ्य केन्द्रले मकवानपुरले सेवा प्रवाहबारे स्थानीय पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ । कार्यालयले प्रदान गर्दै आइरहेको सेवाका बारेमा जानकारी दिइएको थियो । कार्यालयले केन्द्रको आयुर्वेदिक सेवा प्रभावकारी बन्दै गएको दाबी गरेको छ । तर, पत्रकारहरुले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमानसमा उपचारको विश्वास दिलाउनका लागि प्रमुख भूमिका खेल्न आग्रह गरेका छन् । पत्रकारहरुले आयुर्वेदिक उपचारमा आमबिरामीलाई विश्वास दिलाउनुपर्नेमा जोड दिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रले भने आयुर्वेदिक उपचारमा विश्वास गरेर बिरामीहरु आउने क्रम निरन्तर बढिरहेको जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधिको महत्व र प्रयोग विधिबारे जनतालाई स्पष्ट तरिकाले बुझाउनुपर्ने धारणा राखे । आयुर्वेदबारे संस्कृत भाषा उल्लेखित हुने भएकाले केही शब्द नबुझ्ने र प्रयोग गर्न पनि नजान्ने हुँदा यसलाई बुझ्ने भाषामा उल्लेख गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउन उचित बजेट व्यवस्थापन गरिएको जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका–२, स्थित आयुर्वेद स्वास्थ्य केन्द्रले सेवाको प्रबद्र्धनका विषयमा जानकारी गराउनुका साथै पत्रकारहरुको सुझावसमेत संकलन गरेको थियो । केन्द्रकी प्रमुख आयुर्वेदिक चिकित्सक ललिता पाण्डेले केन्द्रमा धेरै खालका बिरामीको उपचार गरिने र औषधिसमेत वितरण गरिँदै आएको जानकारी दिइन् । विगतको तुलनामा बिरामीहरुको चाप बढेको र विश्वास पनि लिइरहेको उनले बताइन् ।

जिल्ला आयुर्वेदबाट हाल बहिरंग सेवा, निःशुल्क परामर्श सेवा, सःशुल्क फार्मेसी सेवा, ल्याब, फिजियोथेरापी र ज्येष्ठ नागरिक सेवा प्रवाह गरिरहेको प्रमुख पाण्डेले जानकारी दिइन् । केन्द्रबाट अन्तरंग सेवा र योग हलको समस्या रहेको उनले बताइन् । आयुर्वेद स्वास्थ्य केन्द्रले स्थानीय तहहरु हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, गाउँपालिकाहरु बागमती, बकैया, मनहरी, राक्सिराङ र कैलाशमा सेवा प्रदान गरिरहेको छ । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुर व्यवस्थापन समिति अध्यक्ष मधु बजगाईको सभाध्यक्षमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*