६ दलले छान्यो दलको नेता, समाजवादीको बाँकी

साझाकुरा
२०७९ पुष २०, बुधबार ०९:३४

हेटौंडा- बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलमध्ये नेकपा एकीकृत समाजवादीबाहेकका ६ वटा दलले संसदीय दलको नेता चयन गरेको हो । नेकपा एकीकृत समाजवादीले भने हालसम्म दलको नेता चयन गरेको छैन । अबको केहि दिनमा संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्ने समाजवादीका सांसद् कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
७ जना सांसद् रहेको समाजवादीको दलको नेतामा खनाल नै चयन हुने सम्भावना देखिएको छ । समाजवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुमा खनालबाहेक अरुले दाबी नगरेको जनाइएको छ । संसद्को अन्य साना दुई वटा दलले नेता चयन गरेका छन् । यसअघि संसद्को ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले संसदीय दलको नेता चयन गरिसकेका छन् ।

हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरेसँगै प्रदेश सभामा ६ दलले संसदीय दलको नेता चयन गरेका छन् । हाम्रो नेपाल पार्टीले बागमती प्रदेश संसदीय दलको नेतामा सर्वसम्मतरुपमा शैलेन्द्रमान बज्राचार्यलाई चयन गरेको छ । शनिबार काठमाडौंमा बसेको दलको बैठकले बज्राचार्यलाई प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । बज्राचार्य, काठमाडांै निर्वाचन क्षेत्र नं. ८ को १ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई जना मात्र प्रदेश सांसद् छन् ।

एक जना प्रत्यक्षतर्फ र एक जना समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बज्राचार्यले हाम्रो नेपाली पार्टी अहिले तत्काल सरकारमा जाने र कस्लाई समर्थन गर्ने भनी छलफल भइनसकेको बताए ।यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज गोसाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । आइतबार काठमाडौंमा बसेको दलको बैठकले गोसाईलाई संसदीय दलको नेतामा चयन गरेको हो । गोसाई भक्तपुर निर्वाचन क्षेत्र १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*