बागमतीमा राप्रपाको शक्ति : सरकारको खेल आफ्नै हातमा

साझाकुरा
२०७९ पुष २१, बिहीबार ११:१३

हेटौंडा- बागमती प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई लिएर यतिबेला राजनीतिक बहस दुई धारमा विभाजित छ ।एउटा प्रदेश खारेजीको मुद्दा बोकेको राप्रपा शक्तिमा आएसँगै सरकारमा सहभागी मात्र नभई मुख्यमन्त्रीमै दाबी गर्नु सवत्र आलोचनाको विषय बनेको छ । दोस्रो राप्रपाका नेता र निकटका कार्यकर्ता तथा समर्थकहरुले सरकारमै गएर प्रदेश खारेजीको मुद्दालाई बलियो बनाउँछौं भन्नु । राप्रपालाई गत ४ मंसिरमा भएको निर्वाचनमा जनताले केही हदसम्म रुचाएको नतिजाले नै देखाउँछ । तर, संसदीय गणितमा शक्ति बढेसँगै राप्रपाले आफैंले खारेज गर्छु भनेको प्रदेशमा नै मुख्यमन्त्री दाबी गरेपछि आलोचना सुरु भएको छ ।

बागमतीमा राप्रपाको शक्ति बलियो छ । २०७४ सालमा भएको निर्वाचनबाट राप्रपाले सामानुपाकिततर्फ दुई जना मात्रै सांसद पाएको थियो । सरकार बनाउने र गिराउने निर्णायक शक्ति नभएका कारण दुई सांसद चितवनकी रिना गुरुङ र रामेछापकी रिता माझी संधै प्रतिपक्षमै बसे । तर, प्रदेशसभाको आगामी पाँच वर्षीय कार्यकालमा भने राप्रपाको १३ सिट छ । जुन बागमती प्रदेशमा सरकार बनाउने र गिराउने खेल राप्रपाकै हातमा छ । जस कारण राप्रपाले बागमतीको मुख्यमन्त्री दाबी गरिरहेको हो । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमतीको मुख्यमन्त्रीमा बलियो दाबी रहेको बताउँदै आएका छन् ।

निर्वाचनमा सँगै रहेको वाम–लोकतान्त्रिक गठबन्धन सरकार निर्माणका बेलामा टुटेपछि बागमतीमा राप्रपाको दिन बलियो भएको हो । जबकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका दलको बाम–लोकतान्त्रिक गठबन्धन हुँदा राप्रपाको शक्ति प्रदेशमा सरकार गठनका लागि निर्णायक थिएन् । कांग्रेसको ३७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट हुँदा सरकार बनाउन पर्याप्त बहुमत थियो । केन्द्रमा गठबन्धन भत्किएसँगै नयाँ समीकरणका कारण बागमतीमा राप्रपा निर्णायक शक्ति बनेको हो ।

प्रदेशमा सरकार निर्माणका लागि जता राप्रपा उतै सरकार बन्ने देखिएको छ । स्पष्ट बहुमत नआएका कारण बागमतीमा गठबन्धन सरकार निर्माण गर्नुको विकल्प छैन् । बागमतीमा हालसम्म सत्तारुढ गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गर्ने दलको टुंगो लागिसकेको छैन । बागमतीमा सत्ता साझेदार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा गरी तीन दलले नै मुख्यमन्त्रीमा दाबी गरेका छन् । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन । एमाले, माओवादी र राप्रपासँग ६१ सिट छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिटसहित बहुमत पु¥याउनु पर्छ ।

तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ । गठबन्धनभित्र भागवण्डा नटुंगिएकाले बागमतीमा कसले नेतृत्व गर्छ भन्ने अन्योलमै रहेको हो । प्रदेशमा सरकार बनाउन गठबन्धनका एमाले र माओवादीलाई राप्रपाको साथ अपरिहार्य छ । २७ सिटको एमाले र माओवादीको २१ सिट गरी कुल ४८ सिट हुन्छ । सरकार बनाउन एमाले र माओवालीलाई थप ८ सिट आवश्यक छ । जसका लागि राप्रपाको साथ अपरिहार्य छ । एमाले र माओवादीले प्रदेशमा १३ सिट बोकेको राप्रपालाई छोडेर ७ सिटको नेकपा (एकीकृत समाजवादी)लाई साथमा लिए पनि सरकार बनाउन पुग्दैन ।

एमाले र माओवादीले एकीकृत समाजवादीको साथ लिँदा पनि सरकार गठनमा थप २ सिट (सभामुख बाहेक) आवश्यक पर्छ । जसका लागि २–२ सिट भएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीमध्ये एउटालाई सरकारमा ल्याउनुपर्ने हुन्छ । तर, नेमकिपा र हाम्रो नेपाली पार्टी प्रतिपक्षमै बस्ने देखिएकाले साना दल मिलाउने सम्भावना न्यून छ । यसर्थ, वर्तमान गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादीलाई बागमतीमा सरकार बनाउन राप्रपाको बढी आवश्यकता छ । उता सरकारको नेतृत्व गर्ने मुखमा पुगेर फर्किएको कांग्रेसले पनि गठबन्धनको अन्तिम सहमतिलाई कुरेर बसेको छ ।

गठबन्धनमा भागवण्डा नमिल्नेबित्तिक्कै सरकारबाट राप्रपा बाहिरिएको स्थितिमा र कांग्रेसले राप्रपाको साथ पाएको अवस्थामा बागमतीमा नयाँ सरकार बन्न सक्छ । ३७ सिट रहेको कांग्रेससँग वर्तमान अवस्थामा नेकपा (एकीकृत समाजवादी) पनि साथमै रहेकाले यी दुई दलको कुल सिट ४४ हुन आउँछ । कांग्रेस र एकीकृत समाजवादीले राप्रपाको साथ पाए बागमतीमा ५७ सिटसहित बहुमत पु¥याएर सरकार बनाउन सक्ने देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी र राप्रपा मिले बागमतीमा साना दलको साथ पाएर पनि एमाले र माओवादीले सरकार बनाउन सक्दैनन् । जसका कारण बागमतीमा जता राप्रपा उतै सरकार बन्ने अंकगणित छ ।

बागमतीमा वर्तमान गठबन्धन नै कायम रहे तीन दलबाट तीन जना नै मुख्यमन्त्रीका दाबेदार छन् । राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापा, एमालेबाट संसदीय दलको नेता जगन्नाथ थपलिया (जेएन) र माओवादी केन्द्रबाट दलको नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीका दाबेदार हुन् । दलको नेता नै मुख्यमन्त्री हुने भएकाले यी तीन जना मुख्यमन्त्रीका दाबेदार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*