मकवानपुरमा डेंगु संक्रमित शुन्य

साझाकुरा
२०७९ पुष २१, बिहीबार ११:३०

हेटौंडा- विगतको करिब ५ महिना डेंगु संक्रमणको त्रासमा रहेको मकवानपुरमा हाल डेंगु संक्रमण शुन्यको स्थितिमा आएको छ । डेंगु संक्रमितले हेटौंडा अस्पतालसमेत भरिएको थियो । हाल १४ पुसदेखि २० गते बुधवारसम्म संक्रमितको संख्या शुन्य रहेको छ । पुसदेखि नै संक्रमित संख्या शुन्यको अवस्थामा थियो । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकलाई हेर्दा मंगलबार र बुधवार डेंगुका संक्रमित फेला परेका छैनन् । मकवानपुरमा डेंगु संक्रमितको संख्या भने हालसम्म ५ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त तथ्यांक गत साउन महिनादेखि बुधबारसम्मको रहेको कार्यालयले जनाएको छ । संक्रमण हुनेमा ३ हजार २ सय ४ जना पुरुष र २ हजार ६ सय ५२ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३ सय ९२ जना पुरुष र १ हजार ९ सय ४८ जना महिला गरी ४ हजार ३ सय ४० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडामा बाक्लो जनघनत्व र लामखुट्टेको बासस्थान बढी हुने भएकाले यहाँ संक्रमणले ठूलो असर पु¥याएको थियो । डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५ सय ४९ जना पुरुष र ५ सय २ जना महिला गरी १ हजार ५१ जना थिए । थाहा नगरपालिकामा १ सय ८ जना पुरुष र ६७ जना महिला गरी १ सय ७५ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३५ जना महिला गरी ८० जना, बागमती गाउँपालिकाको ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् । इन्द्रसरोवर गाउँपालिकाको एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाको ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकाको ३१ जना पुरुष र २८ जना महिला गरी ५९ जना, बकैया गाउँपालिकामा १८ जना पुरुष र २८ जना पुरुष गरी ४६ जना, राक्सिराङ गाउँपालिकामा १९ जना पुरुष र ६ जना महिला गरी २५ जना, हाल ठेगाना नखुलेका १७ जना पुरुष र १८ जना महिला गरी ३५, अन्य जिल्लाका १५ जना पुरुष र ११ जना महिला गरी २६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*