नेपाली चलचित्रमा डिजिटल प्रविधिले ल्याएको फाईदासँगै जोखिम

मणिराज गौतम
२०७९ पुष २३, शनिबार १३:४३

नेपाली सिनेमामा डिजिटल प्रविधिले फड्को मारेको डेढ दशक नाघिसकेको छ । तर पनि सिनेकर्मीहरुले डिजिटल प्रविधिको भरपुर सदुपयोग गर्न सकिरहेका छैनन् । नयाँ प्रविधिको विकाससँगै भित्रिएको डिजिटल प्रविधिले चलचित्र निर्माण संख्यालाई ह्वात्तै बढाएको छ । तथापि चलचित्रको स्तर र मापन अझै पनि बामे सर्दै गरेको अवस्था देखिएको छ । डिजिटलको प्रविधिले घरघरमा धेरै निर्देशकहरु जन्मिए । कलाकारहरु पनि त्यत्तिकै जन्मिए । यो सँगै निर्माताहरु पनि थपिए । कोठाभित्रै सिनेमा बन्न थाले । यसले गर्दा सिनेमा निर्माणको संख्या गनिसाध्य रहेन । सिनेमाको संख्या बढेपनि समाजमा दर्शक माझ छाप छोड्न सफल चलचित्र भने निकै कम निर्माण भए ।

विदेशी चलचित्र हेरेर नक्कल गर्ने प्रवित्तिले नेपाली सिनेमा सोचे जस्तो व्यवसायिक बन्न सकेन । औंलामा गन्ने निर्माताहरु बाहेक अरुले गरेको लगानी बालुवामा पानी हाले सरह बन्न पुग्यो । जसले गर्दा धेरै निर्माताहरु यस क्षेत्रबाट पलायन हुदैं गए । डिजिटल प्रविधिले सिनेमा क्षेत्रलाई सहज र सरल बनाएको छ । यहाँसम्मकी अब त मोवाइल सेटबाट पनि सिनेमा बनाउने सहज भएको छ ।

हिजोका दिनमा काँधमा बोक्नुपर्ने भारिलो क्यामरा अहिले हातमा बोक्न सक्नेमा पोर्टेबल रुपमा परिणत भइसकेको छ । जसले गर्दा दिनानुदिन प्रविधिको विकासको फाइदा यस क्षेत्रको लागि बाँदरको हातमा नरिवल परेको जस्तो देखिन्छ । अहिले मोवाईल फोनबाटै छायाँकन देखि भिडियो सम्पादन तथा डिजिटल प्लेटफर्ममा सम्बन्धित भिडियो (फिल्म) रिलिजसम्म हुन्छ । यसले जुन ठाँउमा छौं त्यहि ठाँउबाट तत्काललै छोटा फिल्म तथा भिडियोहरु बनाउन बनाएर रिलिज गर्न पनि सजिलो भएको छ । यो फाइदा डिजिटलमय प्रविधिको भरपुर प्रयोग हो ।

सामान्य व्यक्तिले ठुलो लगानीमा चलचित्र बनाउन नसक्ने हुदाँ उसका लागि यो प्रविधि लाभदायक रहेको छ । तर यसले नकरात्मक असर पनि बनाएको छ । किनभने सस्तो प्रविधिले स्तरीय चलचित्र निर्माणमा भने ह्रास आएको छ । छिटोछरितो चलचित्र निर्माण हुने बाहानामा बिना गुणस्तरको चलचित्रहरु निर्माण भइरहदाँ यसले स्तरीय चलचित्र बनाउने निर्माता निर्देशकहरुलाई समेत असर परेको छ ।

डिजटल प्रविधिबाट पछिल्लो दशकमा केही राम्रो चलचित्रहरु तयार भएर प्रदर्शन भए । सो क्रम अहिले मौलाएको छ । जसले गर्दा नेपाली सिनेमा पनि डिजिटलमा केन्द्रित भईसकेको छ । डिजिटल प्रविधिसँगै यो माध्यमबाट बनेका राम्रा चलचित्रको पैसा पनि कमाउन सफल भएका छन् । यहाँसम्मकी फिल्म निर्माणसँगै रिलिज देखि हलमा टिकट बिक्रीमा पनि डिजिटल प्राविधिनै सार्थक भएको छ । हलमा लाईन नबसी घरमै रहेर डिजिटल माध्यमबाट टिकट काटेर फिल्म हेर्न सकिने भएको छ ।

सहज र विश्वासिलो प्रविधिको संज्ञा पाएको डिजिटल प्रविधिको विकासले घरैपिच्छे निर्माता निर्देशक जन्माउनु यो क्षेत्रका लागि विकासको बाहक सावित भयो । तथापि यो क्षेत्रको बारेमा नबुझी भित्रिएका निर्माता निर्देशकले नेपाली सिनेमाको गुणस्तरमा भने कुनै फाइदा पु¥याएको छ । जतिबेला देखी यो प्रविधि नेपालमा भित्रियो । त्यतिबेला देखिनै नेपाली सिनेमाको व्यवसायमा मन्दी आएको इतिहास छ । डिजिटल प्रविधिको विकासले नेपाली सिनेमाको दर्शकहरुको आँखालाई रसिलो र आकर्षक बनाएपछि पुरानो प्रविधिलाई नेपाली दर्शक र निर्माता निर्देशकहरुले चटक्कै छाडिदिए ।

पुरानो प्रविधि डिजिटलको तुलनामा निकै झन्झटिलो भएका कारण पनि सबै डिजिटलमा केन्द्रित भए । हिजो ५० लाखको हाराहारीमा बन्ने सिनेमा डिजिटल प्रविधिको विकाससँगै आज १० लाखमा पनि बन्ने गरेको छ ।डेढ दशक अघिलाई नियाल्ने हो भने रिल प्रविधिमा निर्माण हुदाँ लगानी धेरै लाग्ने र खर्चिलोको कारण वर्षमा ३० देखी ३५ वटासम्म नेपाली चलचित्रहरु निर्माण हुने गर्थे । तर आज प्रविधिको विकासले वर्षमा एक सय भन्दा बढी संख्यामा व्यबसायिक चलचित्रहरु निर्माण भइरहेका छन् ।

जस कारण सिनेमाको प्रदर्शनमा होडबाजी चल्न थाल्यो । फलस्वरुप आपसमा नेपाली चलचित्रहरु जुध्न थाले । यसले विदेश चलचित्रलाई पृष्ठपोषण हुन थाल्यो । वार्षिक ५० वटा सिनेमाको भार क्षमता रहने नेपाली सिने बजारमा चलचित्र निर्माणमा बढोत्तरीले गर्दा चलचित्र रिलिज भएकै भोली पल्ट सिनेमा घरबाट उत्रनुपर्ने उदाहरणहरु हामीले खेपिसकेका छौं । प्रविधिको विकासले नेपाली सिनेमामा फाइदा ल्याए पनि उचित प्रयोग गर्न नजान्नु बिडम्वना मान्नु पर्छ ।

नेपालमै खिच्ने फोर के, सिक्स केबाट फिल्म खिच्ने क्यामेराले खिचेर बनाईएका बलिउड, हलिउडका चलचित्र निकै गुणस्तरीय थिए । त्यसको तुलनामा हामीले डिजिटल प्रविधिलाई पूर्ण उपयोग गर्न सकेको छैनौं । जसका कारण डिजिटल प्रविधिको उपयोग नेपाली सिनेमामा अझै पूर्ण गुणस्तरीय रुपमा हुन सकेको छैन ।

हिजो रिल प्रविधिमा बनाइने सिनेमा हेर्दा सानो पर्दामा तिरमिर धमिलो दृष्य हुन्थ्यो भने आज डिजिटिल प्रविधिमा बनेका सिनेमाहरु सफा र चहकिलो देखिन्छ । यो पनि डिजिटलको फाईदा हो । तथापि नेपाली सिनेमामा डिजिटल प्रविधिले प्रगति गरेकोलाई सकरात्मक रुपमा हेर्ने हो भने यसले आबस्यकता भन्दा बढी सँख्यामा सिनेमा जन्माएको छ ।

यो विकासले चलचित्रको स्तरलाई वृद्धि गराउनु भन्दा सँख्या बृद्धि गराएको छ । यसको मनपरी प्रयोगले भकारीमा धान त छ, तर भात खान अनिकाल छ भने जस्तै भएको छ । यो हिसाबले भन्नुपर्दा डिटिजलले चलचित्र निर्माणमा सहजता ल्याए पनि बजारमा प्रतिस्पर्धा बढाएको छ । चलचित्र निर्माण सँख्या बढ्नुले बजारबाट पैसा उठ्ने जोखिम बढेको छ ।

डिजिटलबाट सही र गुणस्तरीय सृजना गर्न नसक्नुलाई हामीले माल पाएर चाल नपाएको मान्नु पर्छ । यसर्थ डिजिटल प्रविधिले नेपाली चलचित्र निर्माणमा जति सहज भएको छ । जो कोहीले जस्तो पनि फिल्म बनाउने होड्ले कमसल फिल्मका कारण नेपाली चलचित्रबाट एकथरी दर्शक बिमुख हुने क्रम पनि त्यत्तिकै छ । त्यसकारण डेढ दशक अघि नेपालमा भित्रिएको डिजिटल प्रविधिलाई सहि ढङ्गबाट सहि तरिकाले प्रयोग गरेर त्यसमा फरक रचना प्रस्तुत गर्न हामी अग्रसर भयौं भने नेपाली सिनेमालाई डिजिटल प्रविधिले अझै धेरै उचाईमा पु¥याउनेमा दुई मत छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*