बागमतीको चौथो मुख्यमन्त्री बन्दै जम्मकट्टेल

साझाकुरा
२०७९ पुष २५, सोमबार ११:३०

हेटौंडा-नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भएका छन् ।
सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सोमबार अपरान्ह ४ बजेसम्म बहुमत पुग्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन् । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको बैठकले बागमती प्रदेश सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने

निर्णय गरेसँगै माओवादी संसदीय दलका नेता जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भएका हुन् ।उनलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने सहमति भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद् छन् । एमाले नेतृत्वको गठबन्धनसँग बागमती प्रदेशसभामा ६१ सांसद्छन् । जुन सरकार गठनको लागि पर्याप्त हो ।

हाल प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका जम्मकट्टेल यसअघि ०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । ०७४ को निर्वाचनमा धादिङ क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट निर्वाचित भएका जम्मकट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोहि क्षेत्रबाट निर्वाचित भएका थिए ।२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज हुन् । २०४४ सालमा अखिल छैटौंमा आवद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ बाट उनी मजदुर संगठनमा लागे । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादी युद्धमा होमिएका थिए ।

त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । बी.ए., बी.एल.सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका थिए । २०६३ मा पुनस्र्थापित संसद्को अन्तरिम विधायिका भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आएका थिए । यद्यपि, २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उनी पाण्डेसँगै पराजित हुन पुगे ।

यसपटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए । तर, भागबण्डामा धादिङ १ मा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दाबी नछाडेपछि उनी पुनः प्रदेशसभा सदस्यमा दोहोरिएका हुन् । जम्मकट्टेललाई प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुख शर्माले सोमबार नै नियुक्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*