४३८ दिन मुख्यमन्त्रीको कुर्सीमा बसेका पाण्डेले के–के गरे ?
हेटौंडा- बागमती प्रदेशका कामचलाउ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो ४ सय ३८ दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
आज सोमबार बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरु सार्वजनिक गरेका हुन् । पाण्डेले आफ्नो कार्यकालमा भएका निर्णय तथा उपलब्धिहरुलाई बुँदागतरुपमा प्रस्तुत गरेका थिए ।
११ कात्तिक २०७८ मा मुख्यमन्त्रीको पद बहाली गरेसँगै प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएका पाण्डेले प्रदेश उच्च शिक्षा ऐन ल्याएर उच्च शिक्षा परिषद् गठनदेखि प्रदेशका अस्पतालहरुको स्तरोन्नतिसम्मलाई आफ्ना उपलब्धिहरुको रुपमा प्रस्तुत गरेका छन् । पाण्डेले छोटो समयमा प्रदेशका आमनागरिकको हितमा प्रशस्तै काम भएको दाबी गरे । उनले सर्वा·िण क्षेत्रको विकासमा प्रदेशले ध्यान दिएको बताउँदै कतिपय उपलब्धि हासिल भइसकेको र कतिपय हासिल हुने क्रममा रहेको बताएका छन् ।
पाण्डेले आफ्नो कार्यकालमा भएका कामको प्रगतिमात्रै दाबी गरेनन् अघिल्ला सरकारहरुको नेतृत्व गर्ने मुख्यमन्त्रीद्वय डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यलाई प्रदेश सरकार सञ्चालनमा पु¥याएको योगदानप्रति आभार व्यक्त गरे । उनले आफ्नो उपलब्धिमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी
गरी प्रदेश उच्च शिक्षा परिषद् गठन गर्दै विश्वविद्यालय र प्रतिष्ठान प्रदेशस्तरमा स्थापना गरी शिक्षा विकासमा प्रदेशको भूमिका बढाउने कार्य भएको दाबी गरे ।
प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषद्बाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।विद्यालय शिक्षाको प्राविधिक धारतर्फ दलित, सीमान्तकृत, लोपोन्मुख वर्ग तथा उच्च शिक्षामा महिलाको पहँुच बृद्धि गर्नका लागि शैक्षिक छात्रवृत्ति निर्देशिका, २०७८ जारी गरिएको पाण्डेले जानकारी दिए । प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहबाट १ जनाका दरले दलित, सीमान्तकृत, लोपोन्मुख वर्गका लागि कक्षा १२ वा सो सरहको डिप्लोमा तहको प्राविधिक शिक्षा अध्ययन गर्न र प्रदेशभित्रका सामुदायिक क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने सबै छात्राहरुको लागि छात्रवृत्तिको व्यवस्था गरिएको उनको दाबी छ
तर, छात्राहरुको लागि छात्रवृति कार्यक्रम कार्यान्वयनमा आउन भने सकेको छैन् । प्रदेशभित्रका २ सय वटा माध्यमिक विद्यालयलाई २० लाखका दरले र १ सय वटा आधारभूत विद्यालयलाई १० लाखका दरले शैक्षिक उपलब्धिका आधारमा अनुदान प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको पाण्डेले बताए । सामुदायिक क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्न २३ वटा क्याम्पसहरुलाई २० लाखका दरले अनुदान उपलव्ध गराइएको र निकट भविष्यमा पनि यो कार्यक्रम सञ्चालनमा ल्याइने उनी बताउँछन्
विद्यालय भौतिक पूर्वाधार विकासअन्तर्गत् १ सय १५ विद्यालयहरुमा २ कोठे भवन निर्माण गर्न २५ लाखका दरले र १ सय २८ विद्यालयहरुमा घेराबार निर्माणको लागि १५ लाखका दरले बजेट व्यवस्था भई कार्य प्रारम्भ गरिएको उनले बताए । हरेक नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नका लागि प्रदेश भरीका १३ वटा अस्पतालहरुलाई स्तरोन्नति गरी विशेषज्ञ सेवासहित सञ्चालन गरिएको पाण्डेले जानकारी दिए । ‘धादिङ अस्पताल, हेटौंडा अस्पताल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालहरुमा डायलाईसिस सेवा बिस्तार गरिएको छ’, पाण्डेले भनेका छन्
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच मृगौलाले काम नगर्ने भएका बिरामीहरुका लागि प्रत्यारोपण सेवा सुरु गर्न र डाइलासिस सेवा विस्तार गर्नका लागि द्विपक्षीय सम्झौता भई आवश्यक तयारी
भैरहेको उनले बताए ।
विगतका वर्षदेखि सुरु गरिएको एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत् आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ५७ जना विद्यालयमा नर्सलाई नियुक्ति दिई सम्बन्धित स्थानीय तहमा परिचालन गरिएको उनको भनाइ छ । हालसम्म ४ सय ५९ विद्यालय नर्सले विद्यालयमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् भने आर्थिक वर्ष २०७९÷०८० मा ६० जना विद्यालय नर्स नियुक्त भई सेवा बिस्तार हुने पाण्डेले जनाए । धादिङ, हेटौंडा, धुलिखेल र काठमाडौंमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिएको जनाइएको छ ।
आफ्नो कार्यकालमा कृषि क्षेत्रमा पनि उल्लेख्य काम गरेको पाण्डेले दाबी गरेका छन् । प्रदेश कृषि विकास अध्यादेश, २०७९ जारी गरी सो बमोजिम किसान परिचय पत्र वितरण कार्यविधि, २०७९ राजपत्रमा समेत जारी गरेर कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । प्रदेशभित्रका कृषकहरुको मागबमोजिमका कृषि यन्त्र उपकरणहरुको उत्पादन गर्नका लागि कृषि औजार कारखाना स्थापना कार्य अगाडि बढाइएको
छ । रासायनिक मलको अभावका कारण किसानहरुले भोगिरहेको विकराल समस्या समाधान गर्नका लागि विदेशी लगानीकर्ता खोजी गरी संघीय सरकारसँगको समन्वयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया सुरु गरिएको छ।
अनुदान प्राप्त गर्ने तर काम नगर्ने कार्यलाई निरुत्साहित गर्न अनुदान प्रणालीमा सुधार गरी वास्तविक उद्यमीलाई सहुलियतपूर्ण पूँजी रकम बैकमार्फत् उपलब्ध गराउने नीति लिइएको उनले बताएका छन् ।पूर्वाधार विकास क्षेत्रतर्फ सडक निर्माण तथा बिस्तारमा रहेको अवरोध हटाउन ‘सडक क्षेत्रमा पर्ने घर टहराको क्षतिपूर्ति निर्धारण कार्यविधि स्वीकृत गरी कामलाई तीब्रता दिइएको उनको भनाइ छ । सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकले जोड्ने नीति अन्तर्गत् २० वटा स्थानीय तहका केन्द्र जोड्ने १ सय ४७ किमि सडक कालोपत्रे हँुदै गरेको छ ।
भवन पूर्वाधारतर्फ नयाँ भवन निर्माण २ सय १२ वटा, पार्क तथा अन्य संरचना निर्माण २ सय ६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई निर्माण ६ सय ८८ वटा सम्पन्न भएका छन् ।बागमती प्रदेशको राजधानी हेटौंडाको प्रशासनिक भवनका लागि आवश्यक जग्गा पहिचान गरी जग्गा प्राप्तिका लागि नेपाल सरकारसमक्ष अनुरोध गरी पठाइएको पाण्डेले बताएका छन् । उनले आफ्नो कार्यकालभित्र प्रदेश ‘सिंहदरबार’को निर्माण सुरु गर्ने बताएका थिए । संघीय सरकारले जग्गा प्राप्तिका लागि अनुमति नै नदिँदा प्रादेशिक संरचना निर्माण अन्यौलमा छन् । पाण्डेले प्रादेशिक संरचनाका लागि चालू आवमा १ अर्ब ६ करोड बजेट बिनियोजन गरिएको जानकारी दिए ।