मुख्यमन्त्रीसहित ३ मन्त्रीले शपथग्रहण गर्दै

साझाकुरा
२०७९ पुष २६, मंगलवार ११:३८

हेटौंडा-बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार शपथग्रहण गर्दैछन् । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथग्रहण गराउन लागेका हुन् । मंगलबार बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहण लगत्तै दुईसदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् ।

उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापालाई सरकारमा लैजान लागेका हुन् । थपलिया अर्थ मन्त्रालय सम्हाल्नेगरि जान लागेका छन् भने थापाको मन्त्रालय अझै टुंगिएको छैन । सुरुमा सानो मन्त्रिमण्डल बनाउन लागेका मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेको दलहरुसँगको छलफलपछि मन्त्रिमण्डललाई पुर्णता दिने जनाएका छन् ।

७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई दलहरूबीच भागबण्डा मिलाउन सहज हुने देखिँदैन । सत्ता गठबन्धनको एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन उनलाई छ । संसदको दोस्रो ठूलो दल एमालेले सत्ता नेतृत्वको चाबी माओवादीलाई सुम्पेको हुँदा ठूला र धेरै मन्त्रालय आफूले पाउनुपर्ने बताएको छ । सरकार गठनमा निर्णायक भूमिका खेलेको राप्रपाले पनि आफ्नो सहभागिता धेरै स्थानमा खोजेको छ भने २ सदस्य रहेको हाम्रो नेपाली पार्टीले पनि एउटा मन्त्रालय पाउनुपर्ने शर्तसहित समर्थन गरेको जनाएको छ ।

रोतले दिएको जानकारीअनुसार एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २÷२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दावी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन् । एमालेले पनि मन्त्रालयको संख्या ८ मा झार्नुपर्ने बताएको थियो। कांग्रेस नेतृत्वको गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदा मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा पु¥याउनकै लागि ८ मन्त्रालयलाई १४ वटा बनाएका थिए । ३ वटा दलको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले भागबण्डा पु¥याउन १४ वटा मन्त्रालय बनाएको भन्दै विरोध गरेका ५ दल मिलेर हाल सरकार बनेको छ । मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय कटौती गर्दै ५ दलमा भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*