राष्ट्रिय एकता अपरिहार्य

साझाकुरा
२०७९ पुष २७, बुधबार ०९:०३

हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ति हर्षोल्लासपूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिनमात्र नभई सि·ो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झक्झक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ । नेपाल एउटा विभाजित अनि स–साना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो, जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म भएको हो । आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ । यी राजालाई नेपालमात्र नभई दक्षिण एसियामै एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रुपमा हेरिन्छ ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पञ्जावदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । पृथ्वीनारयण शाहले चार वर्ण छत्तीस जातको फूलबारीलाई एउटै मालामा गाँसेर राज्य एकीकरण गरेका थिए। पृथ्वीनारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्ताबेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’, ‘नेपाल दुई ढु·ाबीचको तरुल हो’ साँच्चै आज उनको दीव्यवाणी यथार्थमा प्रमाणित भएको छ ।

नेपालमा २०६२÷०६३ को राजनीतिक परिवर्तन अघिसम्म वर्षेनि मनाइँदै आएको राष्ट्रिय एकता दिवस त्यसपछि ओझेलमा पर्दै गएको छ । अहिले मुलुकमा राजतन्त्र नभएर संघीय गणतान्त्रिक शासन व्यवस्था छ । यसकारण राजाको जन्मदिनलाई दिवसको रुपमा किन मनाउने भन्ने तर्क पनि उठ्ने गरेको छ । संघीय गणतान्त्रिक शासन व्यवस्थापश्चात् काटिएको एकता दिवस एवम् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने चलनलाई यसपालि ब्युँताउँदै सरकारले पुस २७ गते आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पृथ्वीनारायण शाह राजा भएकै कारण उनले गरेका असल कामलाई अवमूल्यन गर्नु उचित हुँदैन । राष्ट्रिय एकता दिवसको अपरिहार्यतालाई सबैले बुझ्नु पर्छ । राष्ट्रिय एकता दिवसलाई राज्यले मान्यता दिएर नेपालीहरुबीच रहेको धार्मिक, साँस्कृतिक, जातीय, भाषिक, क्षेत्रीय, वर्गीय विविधताबीच एकता कायम गर्न प्रोत्साहन हुनेछ । यसले मुलुकमा राष्ट्रिय पुनःजागरण कायम गर्दै राष्ट्रियता र राष्ट्रिय अखण्डता रक्षामा पनि सहयोग पुग्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*