थाहाका कृषकलाई २८ लाख बराबरको कृषि सामग्री

साझाकुरा
२०७९ पुष २८, बिहीबार १०:२३

हेटौंडा- थाहा नगरपालिकाको कृषि विकास शाखा, वडा कार्यालय र कृषि विकास समूहसँगको सहकार्यमा कृषिमा यान्त्रिकरण सहयोग गरिएको छ ।थाहाको २ नम्बर वडाका किसानलाई उत्पादन बढाउन २८ लाख रुपैयाँ बराबरको कृषि सामग्री प्रदान गरिएको छ । थाहा नगरपालिकाको वडा नम्बर २ कार्यालय र जनता कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर, स्प्रेयर, हिल ट्याङ्क, पानी तान्ने पम्प, युभी प्लाष्टिक लगायत सामग्री वितरण गरिएको हो ।

२ नम्बर वडा कार्यालय प्राङ्णमा आयोजित कार्यक्रममा ४८ वटा मिनिटिलर, २५ वटा स्प्रेयर, २९ वटा पानी तान्ने मोटर, १६ वटा हिल ट्याङ्क र १ सय मिटर युभी प्लाष्टिक वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नयाँ तरकारी बाली पकेट विकास कार्यक्रमअन्तर्गत् कृषि सामग्री वितरण गरिएको हो । सोका लागि कृषि विकास शाखाले १२ लाख विनियोजन गरेको थियो भने ५० प्रतिशत अनुदानअन्तर्गत् कृषकहरुले त्यति नै रकम लगानी गरेका छन् ।

त्यस्तै, कृषि विकास शाखाको कोटाभन्दा बढी माग भएका कारण वडा कार्यालयले समेत करिब २ लाख खर्च गरेको वडा अध्यक्ष बमबहादुर सिन्तानले बताए । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले कृषि सामग्री वितरण गरेका हुन् । नगर प्रमुख विष्टले थाहा नगरलाई कृषिमा आत्मनिर्भर बनाउन व्यावसायिक कृषि कर्मको विकल्प नरहेको बताए । उनले नगरपालिका कृषि क्षेत्रमा लगानी गर्न कुनै कसर बाँकी नराख्ने
भन्दै कृषिमा गरिएको लगानीको सदुपयोग गर्न कृषकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा कृषि विकास शाखा प्रमुख तिवारी, नगरपालिकाको आर्थिक विकास समिति संयोजक हेरमान गोपाली, वडा सदस्य युवराज विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम २ नम्बर वडा अध्यक्ष तथा जनता कृषक समूहका अध्यक्ष बमबहादुर सिन्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*