मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार
हेटौंडा- बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । माघ ३ गते विश्वासको मत लिनको लागि मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभालाई तयारी गर्न भनिसकेका छन् । प्रदेश संरचनाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री बनेका जम्मकट्टेल पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । गते जम्मकट्टेल प्रदेश संरचनाको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्री बनेका हुन् ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मकट्टेलसहित ३ सदस्यीय मन्त्रिपरिषद् छ । त्यसमा पनि एकजना मन्त्रि विना विभागिय अवस्थामा छन् । पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले २६ गते शपथ ग्रहणलगत्तै २ जना मन्त्रि नियुक्त गरेका थिए । उनले नेकपा एमाले संसदी दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका थिए भने राप्रपाका संसदीय दलका नेता उद्वव थापा विना विभागीय मन्त्री बनेका थिए । प्रदेशमा रहेको अन्य १२ वटा मन्त्रालय मुख्यमन्त्री आफैले चलाइरहेका छन् । उनले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जनाएका छन् ।
तर, प्रदेशमा मन्त्रालय घटाएर ९ वटा बनाउने तयारी हुँदै गर्दा सत्ता गठबन्धनका दलको दाबी भने १४ वटा पुगेको छ । मुख्यमन्त्री जम्कट्टेलले १४ बाट घटाएर कम्तीमा ९ र बढीमा ११ वटा मन्त्रालय बनाउने योजना बनाएका छन् । तर, सत्तारूढ दलभित्र मन्त्रीको दाबी गर्नेको संख्या बढेपछि भागबन्डा मिलाउन सकस हुने देखिन्छ । हालको अवस्थामा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २÷२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् ।
विगतमा दलहरूको भागबन्डा पु¥याउन धेरै मन्त्रालय राखेर बढाएको खर्च कटौती गर्न मुख्यमन्त्रीले आफ्नो पहिलो निर्णय नै मन्त्रालय घटाउने गरिसकेका छन्, जसका लागि उनले समिति नै गठन गरेका छन् । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । त्यसैले मुख्यमन्त्री जम्कट्टेल दलहरूमा भागबन्डा मिलाउने तयारीमा छन् । उनले विश्वासको मत लिनुअघि नै भागवण्डा मिलाउने प्रयास गरिरहेका छन् । सत्तारूढ दलभित्र हाल मन्त्रीको आकांक्षी धेरै छन् । विश्वासको मत लिनु अगाडिसम्म भागबन्डाको सबै विषय टुंग्याउने मुख्यमन्त्रीको योजना छ ।
मुख्यमन्त्री जम्मकट्टेल भनेमन्त्रालय भागवण्डामा कुनै समस्या नभएको बताउँछन् । मुख्यमन्त्री जम्मकट्टेलले गठबन्धनमा मन्त्रालय संख्या घटाउने सहमति भएको भन्दै मन्त्रालय भागवण्डामा कुनै समस्या नभएको बताए । ‘हामीबीच एउटा सहमति छ । मन्त्रालयको संख्या घटाउने भन्ने, जसमा हामी सबै अडिग छांै । त्यसैले मन्त्रालय भागवण्डा गर्दा कुनै विवाद हुँछ जस्तो मलाई लाग्दैन’ जम्मकट्टेलले भने । उनले प्रदेशमा राज्यमन्त्रीको आवश्यकता नरहेको भन्दै राज्यमन्त्री नराख्ने बताए । उनले राज्यमन्त्री नराख्दा मात्रै पनि खर्च कटौती बताए । मन्त्रालय संख्या घटाएर चुस्त दुरुस्त सानो मन्त्रिमण्डल बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।
तर, सरकारको एक मन्त्रीको अनुसार सरकारले हाल कायम रहेको ३ वटा मन्त्रालयलाई मात्रै घटाउने तयारी गरेको छ । १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालय कायम गर्ने तयारी गरिएको हो । निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले बनाएको १४ वटा मन्त्रालयलाई ११ वटामा झार्ने तयारी भइरहेको ती मन्त्रीले बताए ।
मुख्यमन्त्रीले सानो मन्त्रिमण्डल बनाउने भनेपनि सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा पुर्याउनुपर्ने भएकोले ३ वटा मन्त्रालय मात्रै घट्ने भएको हो । बजेट कम भएको सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय गाभिन सक्ने देखिन्छ ।
पदभार ग्रहण गरेलगतै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशमा मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गरेका थिए । पाँच सदस्यीय कार्यदल बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन भएको छ ।
कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् । कार्यदलले मन्त्रालयको काम र आवश्यकताको विषयमा अध्ययन गरेर १५ दिनभित्रमा प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनको आधारमा मन्त्रालय कटौती गर्ने मुख्यमन्त्रीको तयारी छ । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ । जम्मकट्टेललाई विश्वासको मत पाउन समस्या छैन । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रदेशमाजम्मकट्टेललाई पनि विश्वासको मत दिन सक्ने सांसदहरु बताउँछन् । त्यस्तो भएमा जम्मकट्टेलले संसदको १०७ जनाको विश्वास पाउनेछन् । तर,कांग्रेसले उनलाई विश्वासको मत नदिएको खण्डमा पनि उनलाई कुनै समस्या नहुने देखिन्छ ।