शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएसलाई

साझाकुरा
२०७९ माघ १, आईतवार ०९:३४

हेटौंडा- जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिएस निकेतनले उचालेको छ ।  शनिबार भएको फाइनल खेलमा बकैया गाउँपालिकाको महेन्द्र माविलाई ३–० सेटले पराजित गर्दै जिएस निकेतनले उपाधि उचालेको हो । महेन्द्र मावि २५–१३, २६–२४, र २५–२० को सेटले पराजित भयो । जितसँगै जीएसले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको महेन्द्र माविले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीएसका अमृत मिश्र घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट सेटर जीएसका बिनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर महेन्द्र माविका विवेक बोलखे घोषित भए । श्रेष्ठ र बोलखेले नगद २÷२ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा जिल्लाका सरकारी र निजी गरी २६ वटा विद्यालयको सहभागिता रहेको थियो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको प्रायोजनमा हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिता भएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*