नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
हेटौंडा- बागमती प्रदेशसभाको छैटौं दल नेपाल मजदुर किसान पार्टीले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै छन् । जसमा नेमकिपाले विपक्षमा मत दिने भएको हो । केन्द्रमा पनि प्रतिपक्षमा बसेको नेमकिपा बागमती प्रदेशमा पनि प्रतिपक्षमा बस्ने नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गासाईंले बताए । उनले नेमकिपा प्रदेशको पहिलो कार्यकालमा पनि पुरा समय प्रतिपक्षमा बसेको भन्दै दोस्रो कार्यकालमा पनि प्रतिपक्षीकै भुमिकामा बस्ने बताए । उनका अनुसार एक्लै प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरे पनि नेमकिपा तयार छ ।
अघिल्लो कार्यकालमा २ सिट रहेको नेमकिपाको यो कार्यकालमा ३ सिट छ । ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा एमालेका २७, कांग्रेसका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ र नेमकमिपा ३ जना सांसद छन् । मुख्यमन्त्री जम्मकट्टेल प्रदेशसभाको ५ वटा दलको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरि ७० सांसदको समर्थन छ ।
केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसमा प्रदेशमा पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिन सक्छ । यसो भएमा मुख्यमन्त्रीले प्रदेशसभाको १०७ सांसदको ससमर्थन पाउनेछन् । कांग्रेसले विश्वासको मत नदिएको खण्डमा पनि मुख्यमन्त्री जम्मकट्टेललाई सहजै बहुमत पुग्नेछ ।