बागमतीको उपसभामुखमा चापागाईँ निर्वाचित

साझाकुरा
२०७९ माघ ३, मंगलवार ०९:१४

हेटौंडा- बागमती प्रदेशसभाको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा चापागाईं ६१ मत ल्याउँदै उपसभामुखमा निर्वाचित भएकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी चापागाईंको विपक्षमा ३९ मत खसेको थियो भने ७ जना तटस्थ बसेका थिए । ११० प्रदेशसभा सदस्यमध्ये सोमबारको बैठकमा १०८ जनाको मात्रै उपस्थिती रहेको थियो ।

चापागाईंलाई एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीले मत दिएका थिए । उपसभामुखको अर्को उम्मेदवार नेमकिपाकी गिता काफ्लेले ३ मत पाइन् । उनलाई नेमकिपाका ३ जनाले मत दिएका हुन् ।नेपाली कांग्रेसको तर्फबाट सोना परियारको लागि निर्वाचन नै गर्नुपरेन । उम्मेदवारी दर्ताको वर्णानुक्रअनुसार निर्वाचन गर्दा नेमकिपाले बहुमत नपाएपछि एमालेको उम्मेदवारको लागि निर्वाचन गरिएको थियो । एमालेको उम्मेदवार चापागाईंले आवश्यक बहुमत पाएपछि अर्को निर्वाचन नभएको हो ।

यसअघि शुक्रबार भएको निर्वाचनबाट प्रदेशसभाको सभामुखमा राप्रपाका भुवनकुमार पाठक सभामुखमा निर्वाचित भएका थिए । उनले ६२ मत पाएको भएपनि उपसभामुखमा चापागाईंले भने ६१ मत मात्रै पाइन् । ७ दलीय गठबन्धनमा बागमती प्रदेशको सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने सहमति भएको थियो । सो सहमतिअनुसार सभामुख राप्रपा महामन्त्रीसमेत रहेका भुवनकुमार पाठक निर्वाचित भएका छन् भने उपसभामुखमा एमालेकी चापागाईं निर्वाचित भइन् । यसअघि प्रदेशसभाको पहलिो कार्यकालमा एमालेका सानु श्रेष्ठ सभामुख र नेकपा माओवादी केन्द्रकी राधिका तामाङ उपसभामुख थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*