प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित
हेटौंडा-बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । मंगलबार प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएपछि प्रदेशसभा बैठक अनिश्चिकालको लागि स्थगित भएको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । उनले वर्तमान सरकार दलगत स्वार्थभन्दा माथि उठेर जनताको विकासको पूर्वाधार, शान्ति–सुरक्षा, सुशासन एवम् प्रेस स्वतन्त्रताको लागि प्रतिबद्ध रहेको बताएका थिए । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसले पनि आफ्नो संसदीय दलबाट निर्णय गरेर मौजुदा प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेकोप्रति खुसी व्यक्त गर्दै सरकारको तर्फबाट कृतज्ञता ज्ञापन गरे ।
मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमाथी छलफल गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले सरकारद्वारा प्रस्तुत गरिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै आफ्नो पार्टीले संविधानको रक्षा, प्रजातन्त्रको सुदृढिकरण र जनतालाई जवाफदेही बनाउने उद्देश्यले गठबन्धनको सरकारको मुख्यमन्त्रीलाई आफ्नो दलको तर्फबाट विश्वासको मत दिने बताएका थिए ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता सुरेन्द्रराज गोरसाईंले मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापना भएलगतै प्रतिनिधिसभादेखि हाल प्रदेशसभासम्म प्रतिपक्ष दलको हैसियतमा रहेको बताउँदै प्रदेश सरकारको गठन र विश्वासको मतसम्बन्धी कार्यमा पनि आफ्नो पार्टीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारलाई विश्वासको मत नदिने बताएका थिए ।
छलफलमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा माओवादी केन्द्रका युवराज चौलागाईं, हाम्रो नेपाली पार्टी संसदीयका नेता शैलेन्द्रराज बज्राचार्य, एकीकृत समावादी पार्टीका नेता कृष्णप्रसाद शर्मा खनाल र राप्रपाका कुमारी तामाङले छलफलमा भाग लिदै मुख्यमन्त्तीलाई विश्वासको मत दिने बताएका थिए । ७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभाबाट मुख्यमन्त्री जम्मकट्टेलले ६ दलको विश्वास पाएका छन् । ११० सदस्यी प्रदेशसभामा उनले १०५ सांसदको विश्वासको मत पाएका हुन् ।