कमल थापा छोडेपछि सिंहको छलाङः पहिलो पटकमै ऊर्जा राज्यमन्त्री

साझाकुरा
२०७९ माघ ४, बुधबार ०९:५२

हेटौंडा- मकवानपुरमा राप्रपाका दुई सारथि कमल थापा र दिपक सिंह दुई धु्रुवमा लागेको धेरै भएको छैन् । राप्रपाको महाधिवेशन पछि थापा र सिंह प्रष्ट हुने गरी फरक–फरक राजनीतिक बाटोमा हिँडे । त्यसअघि थापाका लागि मकवानपुरमा सिंह सबैभन्दा नजिकका राजनीतिक मित्र थिए । कुनैबेला राप्रपामा एउटा रथको दुई पांग्रा रहेका थापा र सिंहको सहयात्रा दुई तिर बाँडिएपछि भने सिंह निरन्तर राजनीतिक उपलब्धी हासिल गरिरहेका । थापाको यात्रा भने तत्काललाई धर्मराएको छ । उनी हाल न सांसद छन् न संसदमा प्रतिनिधित्व भएको पार्टीको अध्यक्षमा छ । उनी अध्यक्ष रहेको राप्रपा नेपालले ५ हजार मत मात्रै कटायो ।

कमल थापाको साथमा रहँदा दुई पटक सांसद र दुई पटक स्थानीय तह निर्वाचन लडेका सिंह पराजित मात्रै बन्न पुगेका थिए । एउटा संयोग, जब थापासँगको सहयात्रा छोडेर सिंह राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको साथमा पुगे तब पहिलो पटक प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भए । सिंहको जितले मकवानपुरमा राप्रपा २८ वर्षपछि फर्किएको थियो । पहिलो पटक संसदमा पुगेका सिंह उर्जा राज्यमन्त्री पनि बने । राज्यमन्त्री सिंहको रोजाई नभए पनि गठबन्धनमा भागबण्डा मिलाउन उनले राज्यमन्त्रीमा चित्त बुझाउन परेको राप्रपा नेताहरु बताउँछन् । उनी राज्यमन्त्री भएको उर्जा तथा जलश्रोत मन्त्रालय लिङ्देनकै नेतृत्वमा छ ।

बहुदल स्थापनापछि राप्रपा मकवानपुरबाट मन्त्री हुनेमा थापापछि सिंह बने । समग्रमा सिंह जिल्लाबाट मन्त्री हुनेको सूचिमा पाँच नम्बरमा परेका छन् । मकवानपुरबाट यसअघि मन्त्री हुनेमा कमल थापा, एमालेका हिरण्यलाल श्रेष्ठ, कांग्रेसबाट महालक्ष्मी उपाध्याय डीना, इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा हुन् । जसमध्ये थापा र खतिवडा क्याबिनेट मन्त्री भए भने अन्य राज्यमन्त्री बनेका थिए । नेताहरुका अनुसार राप्रपा अध्यक्ष लिङ्देनलाई सिंहलाई कुनै हालतमा मन्त्री बनाउनुपर्ने दबाब थियो । कमल थापालाई हराएका कारण पनि सिंहलाई मन्त्री बनाउनु पर्ने दबाबमा लिङ्देन परेको एक राप्रपा नेताले बताए ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट पाँचौँ पटकको प्रयासमा सिंह सांसद बनेका हुन् । राप्रपाभित्र राजनीतिक सारथि सिंहलाई जिताउन अध्यक्ष लिङ्देन निर्वाचनका बेला मकवानपुर दुई पटक आएका थिए । प्रतिनिधि सभामा सिंहले कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र एमालेको सूर्य चिह्नबाट लडेका राप्रपा नेपाल अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गरेका थिए । सिंहले चुनाव जित्दा डीना दोस्रो र थापा तेस्रो भएका थिए । सिंहले कांग्रेस सहमहामन्त्री डीनालाई २ हजार ३ सय ८२ मतान्तरले हराएका हुन् ।

सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा डीनाले २५ हजार ५ सय ३४ मत पाएकी थिइन् भने थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका थिए ।
प्रतिनिधिसभा निर्वाचन लड्नुअघि सिंहले हेटौंडाको मेयर पदका लागि पनि प्रतिस्पर्धा गरेका थिए । मेयरमा सिंहले २० हजार ५ सय ३१ मत ल्याएर पनि चुनाव जित्न भने सकेनन् । मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की तत्कालीन जिल्ला उपाध्यक्ष तथा निवर्तमान उपमेयर मिनाकुमारी लामा विजयी बनेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*