माउन्टेन एफसीले जित्यो थाहा गोल्डकप

साझाकुरा
२०७९ माघ ७, शनिबार १२:२४

हेटौंडा- थाहा नगरपालिकामा भएको चौथो थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको माउन्टेन एफसीले जितेको छ । इन्द्रायणी खेलमैदानमा भएको फाइनल खेलमा घरेलु टोली पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २–१ गोल अन्तरले  पराजित गर्दै माउन्टेनले उपाधि जितेको हो । माउन्टेनको जितमा उर्गेन शेर्पा र अमित लामाले एक–एक गोल गरेका थिए । पारिजातका याकुवले एक गोल फर्काए पनि उपाधि जित्न भने सकेन । प्रतियोगिताको फाइनलका म्यान अफ द म्याच अमित लामा घोषित भएका छन् । प्रतियोगिताको विजेता माउन्टेन एफसीले नगद २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता पारिजातले नगद एक लाख रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै विधागततर्फ सर्वाधिक गोलकर्ता पारिजातका सोलोमन, उत्कृष्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर चुनिएका छन् । उनीहरुले नगद ५ हजारसहित ट्रफी हात पारे । प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई थाहानगर प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपालीलगायतले पुरस्कार प्रदान गरेका छन् ।

थाहा नगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्नपुरस्कार वितरण समारोहमा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली सहित वडा अध्यक्षहरु नारायण लामा, शिवराज थिङ, राजकुमार बलामी, थाहानगरका पूर्वखेलकुद विकास संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नवराज बिष्ट, नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमालेका शिवराम थापा,
राप्रपा थाहानगर अध्यक्ष नविन रायमाझी, माओवादी केन्द्रका नगर सदस्य इच्छापूर्ण कार्की, थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज बिष्ट लगायतको उपस्तिथि थियो ।

थाहा नगरपालिकाको मुख्य प्रायोजनमा वर्षेनि हुने प्रतियोगिता सहयोग गर्ने च्वाइस नेपाल, यति ब्रुअरी, चन्द्रागिरी हिल्स, पालुङ बहुउद्देश्यीय सहकारीलगायत संघसंस्थाहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै थाहाका नगर प्रमुख विष्टले खेलकुदले पहिचान दिलाउने भएकाले नियमित आयोजना हुनुपर्नेमा जोड दिए । थाहा नगर गोल्डकप आयोजना गर्न नगरपालिकाले संधै सहयोग गर्ने उनको भनाइ छ । नगरपालिकाले स्थानीयस्तरमा सबै खेलकुदको विकास र खेलाडी उत्पादनमा ध्यान दिने विष्टले प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*