निरन्तर अष्ट्रेलिया भासिँदै मकवानपुरे फुटबलर

साझाकुरा
२०७९ माघ ८, आईतवार १३:०१

हेटौंडा फुटबल खेलेर मकवानपुरलाई यसअघि देशभर चिनाउन भूमिका खेल्दै आएका महत्वपूर्ण खेलाडीहरु यतिबेला स्वदेशमा छैनन् ।
मकवानपुरमा जन्मिएर, हेटौंडाका खेलमैदानमा सिकेर राष्ट्रिय टोली र राष्ट्रिय लिग खेलिसकेका अञ्जन विष्ट, रञ्जन विष्ट, अमिर श्रेष्ठ, सुनिल बल, एलन न्यौपाने, रोहित कार्की, रवि थिङ र सुशान्त लामाले मकवानपुरलाई खेलकुदबाट पहिचान दिलाएका थिए । तर, उनीहरुमध्ये अञ्जन र सुनिल मात्रै स्वदेशमा छन् ।

निरन्तर राष्ट्रिय टिममा रहँदै आएका अञ्जन र सुनिललाई छोडेर रञ्जनदेखि पछिल्लो समयका उदयीमान खेलाडी रोहित विदेश भासिएका छन् । यसअघिको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा रञ्जन, अमिर, रोहित, रविले खेलेका थिए । यसले पनि मकवानपुरका खेलाडीहरुले राष्ट्रिय टिमदेखि ए डिभिजन लिगमासमेत अर्थपूर्ण सहभागिता जनाउँदै आएको देखिन्छ । तर, स्वदेशमा खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान मकवानपुरे खेलाडी सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया भासिएका छन् ।

कुनैबेला राष्ट्रिय टिममासमेत रहेका र चर्चित क्लब थ्रीस्टारको पहिलो रोजाईकोगोलरक्षक एलन न्यौपाने करिब २ वर्ष अघि नै अष्ट्रेलिया भासिएका
थिए । उनी स्वदेश फर्किएनन् । एलनपछि ए डिभिजन लिगका महत्वपूर्ण खेलाडीहरु अमिर, रोहित, रवि पनि अष्टे«लिया पुगेका छन् ।पछिल्लो समय केही दिनअघि मात्रै हेटौंडेली फुटबलर फर्वाड रञ्जन पनि अष्ट्रेलिया
गए । रञ्जन पूर्वराष्ट्रिय खेलाडी हुन भने लिगको गत सिजनमा एनआरटीबाट खेल्थे । लिगमा फर्वाड अमिरले जवलाखेलबाट खेलेका थिए भने रवि सशस्त्र
प्रहरीको एपीएफ क्लबमा जोडिएका थिए । गोलरक्षक रोहित कार्की संकटबाट खेल्ने गरेका थिए ।
रोहित एन्फाको एकेडेमीबाट उमेर समूहमा प्रतिस्पर्धा गर्दै लिगमा स्थान बनाएका खेलाडी हुन् । यस्तै, मोफसलका ठूला प्रतियोगिता खेलेका अञ्जनको ब्याचका सुशान्त लामा सबैभन्दा पहिला अष्ट्रेलिया भासिएका थिए । उनी श्रीमतीसहित अष्ट्रेलिया पुगेका हुन् । उनले पढ्दै र फुटबल खेल्दै आइरहेको मकवानपुरका पुराना फुटबलर तथा प्रशिक्षक सुविन घिमिरे बताउँछन् ।

कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु गौरवको विषय मानिने गरेको नेपालमा हाल खेलाडीहरुले भविष्यको खोजीमा अष्टे«लिया भासिने गरेका हुन् । मुलुकको झन्डा बोकेर खेलाडीलाई सद्भावना दूतका रुपमा हेरिन्थ्यो भने उनीहरु अहिले विदेशी भूमिका पसिना बगाईरहेका छन् । पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका चर्चित गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा पनि सहभागी हुने होडबाजी चलेको हो । पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अष्ट्रेलिया आइपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि ए डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको छ ।

मकवानपुरका खेलाडी मात्र हैन, राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ यसै साता ए डिभिजन लिग छोडेर अष्ट्रेलिया पुगे । एकाध खेलाडी भने विद्यार्थी भिसा र डिपेन्डेन्ड भिसामा अष्ट्रेलिया गएको देखिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेका यू–२३ टिमका २० मध्ये ८ जना खेलाडी अष्ट्रेलियामा रहेका छन् । सागमा स्वर्ण विजेता टिमका दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र अभिषेक रिजाल यसअघि नै अष्ट्रेलियाको सप्ताहन्त फुटबल खेल्न गएका हुन् ।

अष्ट्रेलिया आइपुग्ने अधिकांश खेलाडीलाई यहाँका सप्ताहन्त फुटबल खेल्ने नेपाली क्लबले बोलाएका हुन् । खेलाडीहरु यहाँ आउँदै गर्दा सबक्लास ४०० भिसा अन्तर्गत आउँछन् । उनीहरुलाई सिमित घेरामा मात्र आफ्नो क्षमता प्रर्दशन गर्ने अघिकार रहेको बताइन्छ । नेपाली फुटबलरलाई यहाँको स्थानीय नेपाली क्लबले आफ्नो निम्तामा अष्ट्रेलिया बोलाएको हुन्छन् र केहि महिनापछि उनीहरु विद्यार्थी भिसामा स्थानान्तरण हुन्छन् । अष्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ । जसकारण त्याहाँ पुगेका खेलाडीहरु स्वदेश फर्किने सम्भावना कम हुन्छ ।

वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउने देखिन्छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेम्वाङ खेलाडीहरु उज्वल भबिष्यका लागि व्यवसायीक फुटबल खेल्न भनेर बिदेशिँदै गर्दा आफूहरुले रोक्ने कुनै उपाय नभएको बताउँछन् । उनले खेलाडीलाई अब पलायन हुनबाट रोक्ने जिकिर गरे। नेपालमै खेल्ने वातावरण बनाउने उनको भनाई छ । अब राम्रो हुन्छ भन्ने सोचेर प्रतिभाशाली खेलाडीहरु मुलुक फर्कनुपर्ने उनले बताए ।

नेपालमा व्यवसायी फुटबल खेलिरहेका दुई दर्जन भन्दा बढी खेलाडी अष्टे«लिया पुगिसकेका छन् । फुटबलहरु हेमन गुरुङ, एनल न्यौपाने, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, बिमल राना, सन्तोष तामाङ, शिव गुरूङ, राजन गुरुङ, नवीन गुरुङ, आकाश बुढामगर, रुमेश बर्तौला, अभिषेक रिजाल, हेमन्त थापामगर, रेजिन सुब्बा, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, राजेन्द्र रावल, विश्व अधिकारी, नितिन थापा, अजित, राई, रोहित कार्की, सूर्य अधिकारी, रुपक लामा, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, रवि थिङ, रन्जन विष्टलगायत अन्य खेलाडी पनि अष्ट्रेलिया भासिएका छन् । यी मध्ये अधिकांशले हेटौंडामा फुटबल खेलेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*