अन्जन विष्ट आइ लिग खेल्न भारतमा

साझाकुरा
२०७९ माघ ८, आईतवार १३:११

हेटौंडा- मकवानपुरे खेलाडी विदेश भासिएको समाचार आइरहँदा हेटौंडाका फुटबल स्टार अञ्जन विष्ट भने भारतीय आइ लिग खेल्न त्यसतर्फ गएका छन् ।राष्ट्रिय फुटबल टोली तथा चर्च ब्वाइज युनाइटेड क्लबका फरवार्ड अन्जन विष्टको व्यवसायिक खेल जीवनमा थप एउटा सफलता हात परेको हो । विश्व फुटबलले ध्यान दिइरहेको भारतको आइ लिगमा व्यवसायिक फुटबल खेल्नु नेपाली फुटबलरहरुको उद्देश्यनै रहन्छ । जुन अबसर अञ्जनले पाएका हुन् । उनकै दाई अर्थात पूर्व राष्ट्रिय खेलाडी रञ्जन विदेश भासिएको तीन दिनपछि अञ्जन भने फुटबल खेल्न भारत हिँडेका हुन् । अन्जनले मुम्बई केन्क्रे एफसीबाट आइ लिग खेल्ने जानकारी दिएका छन् ।

उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि भारत गएका हुन् । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहेका अन्जनले आइ लिग खेल्न अवसरलाई आफूलाई थप प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताए । ‘व्यवसायिक खेल जीवनमा यसलाई अर्को महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु,’ उनले भने । उनी घरेलु फुटबलको सर्वाधिक सफल टोलीमध्येको एक मनाङ मस्र्याङ्दी क्लब छाडेर यसै सिजन चर्च ब्वाइजमा आबद्ध भएका थिए । चर्च ब्वाइजले सहजै रिलिज दिएको बताए ।आफ्नो पुस्तामा आइ लिग खेल्ने अन्जन तेस्रो खेलाडी बनेका छन् । विमल घर्तीमगर केहि वर्षअघि र गत वर्ष अनन्त तामाङले आइ लिग खेलेका थिए । अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । उनले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका थिए ।

दशरथ रंगशालामा कात्तिक ३० गते पाकिस्तानविरुद्धको १–० को जितमा गोल गरेका अन्जनले त्यसअघि बंगलादेशलाई ३–१ ले हराउँदा ह्याट्रिक गरेका थिए । नेपालका लागि ह्याट्रिक गर्ने उनी छैटौं खेलाडी हुन् । पुरुष फुटबल टोलीबाठ सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा उनी दोस्रो
नम्बरमा छ ।आइ लिगका बाँकी खेल सकेर फर्कने योजना रहेको अन्जनले बताए । उनले आगामी सहिद स्मारक ए डिभिजन लिगको केही खेल गुमाउने सम्भावना छ ।

राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट आइ लिग खेलिरहेका छन् । अब आइ लिगमा किरण र अन्जनको सामना हुने सम्भावना रहन्छ । केन्क्रेले सोमबार आइ लिग अंकतालिका को शीर्ष टोली श्रीनिदी डेकेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*