नेपाली दाताको सहयोगमा ७० जनाको आँखाको शल्यक्रिया

साझाकुरा
२०७९ माघ ९, सोमबार १०:३४

हेटौंडा पहिलोपटक नेपाली दाताको सहयोगमा सामुदायिक आँखा अस्पताल हेटौंडाले ७० जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरेको छ ।
करिब डेढ दशकदेखि आँखा कार्यक्रममार्फत् विभिन्न स्थानमा शिविर सञ्चालन गरेर सेवा दिँदै आएको अस्पतालले पहिलोपटक नेपाली दाताको सहयोगमा ७० जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरेको हो । काठमाडौं महानगरपालिका माघवराज राजभण्डारी र राधिका राज
भण्डारीले आफ्नो सपुत्र स्व. आशिष राजभण्डारीको स्मृतिमा निःशुल्क आँखा शिविरको सौजन्य गरेका थिए ।

मकवानपुरको बकैया, हर्नामाडी र बाराको प्रष्टोकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी ७० जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको थियो । नेपाल आँखा कार्यक्रमका कार्यकारणी सदस्य सिद्धिलाल श्रेष्ठको समन्वयमा श्रेष्ठ दम्पतीले सहयोग गरेका हुन् । अस्पताल प्रमुख डा. थकालीले अस्पतालमा विदेशी दाताहरुबाट सहयोग आइरहेकोमा स्वदेशीहरुबाट अन्धोपन निवारणका लागि सहयोग आउनु खुशीको कुरा भएको बताए ।

७० जनाको शल्यक्रिया खर्चसहित अस्पतालमा हुने भिडियो कन्फरेन्स गर्न आवश्यक उपकरण खरिदका लागि ५ लाख रुपियाँको चेक श्रेष्ठ दम्पतीले हस्तान्तरण गरेकोे अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । यसअघि सधैं विदेशी दाताको सहयोगमा शिविर सञ्चालन हुँदै आएकोमा पहिलोपटक नेपाली दाताको सहयोगमा शिविर र उपचार सम्भव भएको श्रेष्ठको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*