बागमतीले आज थप ८ मन्त्री पाउँदै, आजै शपथ
हेटौंडा- बागमती प्रदेशमा ११ वटा मन्त्रालय संख्या निर्धारण भएसँगै आज बुधवार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले थप ८ जना नयाँ मन्त्रीहरु नियुक्त गर्दैछन् । एकै दिन ८ मन्त्री नियुक्त गरेर उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएको बुझिएको छ । यसअघि जम्मकट्टेलले नेकपा एमाले संसदीय दलको नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलको नेता उद्धव थापालाई विना विभागीय मन्त्री बनाएका थिए । त्यसयता बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन् । मन्त्रालय संख्या निर्धारण नभएका कारण पनि सरकार विस्तारमा ढिलाई भएको थियो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । गठबन्धनमा भागबण्डा पनि टुंगो लाग्न बाँकी छ । समाचार तयार पर्दासम्म हेटौंडामा मुख्यमन्त्रीसहितका नेताहरु भागबण्डाका लागि छलफलमा जुटेका थिए । छलफलमा जम्मकट्टेल सहित पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता तथा विना विभागीय मन्त्री उद्धव थापा लगायतका शिर्ष नेताहरुको सहभागिता थियो ।
बागमतीमा मुख्यमन्त्री छाडेको एमालेले कम्तिमा ५ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्र पनि ४ मन्त्रालय आफ्नो भागमा हुनुपर्ने अडानमा रहँदा राप्रपाले ३, समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालय दाबी गरेको छ । तर, यसो हुँदा १४ मन्त्रालय बनाउनु पर्ने देखिन्छ । मन्त्रालय संख्या १४ बाट ११ मा झार्ने निर्णय भइसकेकोले यो अहिले सम्भव छैन । त्यसैले हाल दाबी गरिरहेका दलहरु आफ्नो दाबीबाट पछि हट्नुपर्ने देखिन्छ । समाजवादी र हानेपालाई तत्काल सरकारमा नैलजाने सहमति भएको जनाइएको छ ।
यसैगरी, सरकारमा एमाले, माओवादी केन्द्र र राप्रपा मात्रै जाने भएका छन् । तर, सरकारलाई समर्थन गरेका नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले पनि मन्त्रालय दाबी गरेका थिए । भागबण्डामा एमाले ५, माओवादी ४ र राप्रपाले २ वटा मन्त्रालय पाउने पक्कापक्की भएको छ । तर कुन–कुन मन्त्रालय कस्को भागमा भन्ने विषय टुंगो लगाउन मंगलबार साँझ बैठक बसेको थियो ।
मन्त्री बन्ने आकांक्षीहरुको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ । दलहरुले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन नसकेको हो । मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रिपरिषद विस्तार गर्न खोजिरहँदा बागमतीको गठबन्धनका दलका नेताहरु मन्त्रीका लागि लबिङमा छन् । नेताहरु आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त बनेका छन् । यसैगरी सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमालेबाट प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, भारती पाठक, एकालाल श्रेष्ठ, अमन कुमार मास्के लगायतका सांसदहरुको नाम चर्चामा छ ।
एमालेबाट जगन्नाथ थपलिया यसअघि नै मन्त्री बनिसकेका छन् भने उपसभामुखमा अप्सार चापागाईं निर्वाचित भइसकेकी छिन् । हाल प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट मन्त्रीमा ८ जनाको चर्चा रहेको छ । जसमा प्रदेशसभाकी पूर्वउपसभामुखसमेत भइसकेकी राधिका तामाङ, पूर्वमन्त्री युवराज दुलाल, कुमारी मोक्तान, सरल सहयात्री, गंगा नारायण श्रेष्ठ, युवराज चौलागाई, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र युवराज चौलागाईंको नाम चर्चामा छ । यस्तै राप्रपाबाट मन्त्रीमा कुमारी तामाङ, राजु विष्ट, डम्बरबहादुर तामाङ, लक्ष्मी घिमिरे, राजेन्द्र प्रजापतिलगायतले आकांक्षा व्यक्त गरेका छन् । यसअघि राप्रपाबाट प्रदेशको सभामुखमा भुवन कुमार पाठक निर्वाचित भइसकेका छन् भने उद्धव थापा विना विभागीय मन्त्री बनिसकेका छन् । उनलाई हालसम्म मन्त्रालयको जिम्मेवारी दिइएको छैन् ।
सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पनि मन्त्रीको लागि तीव्र लविङमा छन् । यस्तै सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले पावरफुल मन्त्रालयमा दाबी गरिरहेको छ । एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठलगायत मन्त्रीको दाबेदार छन् । तर, एकीकृत समाजवादी र हानेपालाई सरकारमा नलैजाने भएपछि उनीहरुको मन्त्री बन्ने चाहनालाई तत्काललाई सकिने देखिएको छ ।
बागमती प्रदेशमा कुल १ सय १० सदस्यमध्ये कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।