बागमती सरकारले पायो पुर्णता

साझाकुरा
२०७९ माघ १२, बिहीबार १०:५८

हेटौंडा- बागमती प्रदेश सरकारले पुर्णता पाएको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ८ मन्त्री नियुक्त गरेसँगै सरकारले पुर्णता पाएको हो । प्रदेश सरकारको नवनियुक्त ८ मन्त्रीले बुधबार नै पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो । गत पुस २५ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले २६ गते शपथ ग्रहण गर्दै प्रदेशमा कायम रहेको १४ मन्त्रालयको संख्या घटाउने निर्णय गर्दै अध्ययन कार्यदल गठन गरेका थिए । उनले प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय मन्त्रालय घटाउन अध्ययन कार्यदल समिती गठन गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले गठन गरेको अध्ययन कार्यदल समितीले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न दिएको सुझावअनुसार ११ मन्त्रालय राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । कार्यदलको सुझाव अनुसार मुख्यमन्त्री जम्कट्टेलले मंगलबार कुल सांसदको १० प्रतिशत हुने गरी प्रदेशमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेका थिए । ११ मन्त्रालय कायम गरेको भोलिपल्ट नै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । जसमा सत्तारुढ गठबन्धनको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४,नेकपा एमालेले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ मन्त्री पाएको छ । माओवादीले यसअघि नै मुख्यमन्त्री पाइसकेको थियो भने एमालेबाट पनि दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै अर्थमन्त्रीको शपथग्रहण गरिसकेका थिए ।

त्यस्तैगरि राप्रपा संसदीय दलका नेता उद्वव थापा विना विभागिय मन्त्री बनेका थिए । बुधबार थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाबाट अरु दुईजना मन्त्री बनेका छन् । बुधबार नेकपा माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकास मन्त्री,युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकालाल श्रेष्ठ रोजगार तथा यातायात मन्त्री बनेका छन् ।
राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले आफूलाई सरकार गठनमा समर्थन गरेको र विश्वासको मत पनि दिएको नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टिलाई पनि सरकारमा समेट्ने प्रयास गरेका थिए । तर, उनको प्रयास असफल भएको छ । सत्ता गठबन्धनमा रहेका एमाले र राप्रपा सहमत नभएपनि नेकपा एस र हाम्रो नेपाली पार्टिलाई सरकारमा समेट्ने मुख्यमन्त्रीको प्रयास असफल भएको हो । ११ मन्त्रीमध्ये ८ जनाले पहिलो पटक प्रदेश सरकारमा इन्टिू गरेका छन् । जसमध्ये ७ जना प्रदेशसभाको पहिलो यात्रामा नै मन्त्री बनेका हुन् भने एक जना सांसदले दोस्रो पटकको संसदीय यात्रामा मन्त्री बनेका छन् । पहिलो पटक बागमती प्रदेशसभा सदस्य बन्दै मन्त्री बन्नेहरुमा एमालेका जगन्नाथ थपलिया, एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ रहेका छन् भने माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ र राप्रपाका उद्धव थापा, राजु विष्ट र डम्बर बहादुर तामाङ रहेका छन् ।

एमालेका केशवप्रसाद पोखरेल भने दोस्रो पटकको संसद् यात्रामा मन्त्री हुने अवसर पाएका हुन् । एमालेका थपलिया यसअघि तत्कालीन मुख्यमन्त्री
डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए । उनले गत ४ मंसिरमा प्रदेशसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर(१ (क) बाट निर्वाचित भएका थिए । त्यस्तै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ पनि पहिलो पटकको संसद् यात्रामा मन्त्री बनेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर–१ (ख)बाट निर्वाचित भएका थिए । एमालेका रामेश्वर श्रेष्ठ पनि पहिलो प्रयासमा मन्त्री बनेका छन् ।

उनी ललितपुर क्षेत्र नम्बर–२ (क)बाट निर्वाचित सांसद हुन् । सिन्धुली क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित गंगानारायण श्रेष्ठ पनि पहिलो पटकमै मन्त्री बनेका छन् । राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापा पनि पहिलो पटकको संसद् यात्रामा मन्त्री बनेका छन् भने धादिङबाट निर्वाचित डम्बर बहादुर तामाङ र काठमाडौंबाट निर्वाचित सांसद राजु विष्ट पनि मन्त्री बनेका छन् ।

मकवानपुरका दुईजना मन्त्रीबागमती प्रदेश सरकारको मन्त्रीपरिषद्मा मकवानपुरबाट दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारको दोस्रो कार्यकालमा मकवानपुरबाट दुईजना मन्त्री बनेका हुन् । मन्त्री बन्नेमा मकवानपुर क्षेत्र नम्बर २ को क बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मुक्तान र मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को ख बाट निर्वाचित एकालाल श्रेष्ठ रहेका छन् । मुक्तान सामाजिक विकास मन्त्री भएकी हुन् भने श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री बनेका छन् । मुक्तान यसअघि पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्री थिइन् । श्रेष्ठ भने पहिलोपटक निर्वाचित हुँदै मन्त्री बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*