पूर्वविद्यार्थीले १० लाख खर्चिएर बनाइदिए मन्दिर

साझाकुरा
२०७९ माघ १३, शुक्रबार ११:५६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९, स्थित प्रगति माध्यमिक विद्यालयमा विद्याकी देवीको रुपमा पुजिने सरस्वतीको मन्दिर निर्माण गरिएको छ ।
प्रगतिकै पूर्वविद्यार्थी विनोद भोम्जनले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरेका हुन् । प्रगति माविबाट २०५० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका भोम्जनले १० लाख रुपैयाँ लागतमा विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरेका छन् । नवनिर्मित मन्दिरको बिहीवार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ, ९ नम्बर वडाका वडाध्यक्ष सुकराम केसीलगायतको उपस्थिति थियो ।

विद्यालयमा यसअघिको सरस्वती मन्दिर जीर्ण भएका कारण भोम्जनले नयाँ सरस्वती मन्दिर निर्माण गरेको बताए । मन्दिमा करिब ६ लाख बराबरको सरस्वतीको मूर्ति स्थापना गरिएको उनको भनाई छ । मन्दिरसँगै विद्यालय प्राङ्गणमा मञ्च पनि निर्माण गरिनुका साथै मञ्च निर्माणमा अर्का पूर्वविद्यार्थी जीवन न्यौपानेले ५० हजारको आर्थिक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताए । मन्दिरलगायतका विकास निर्माणमा सहयोग हुँदा पूर्व विद्यार्थीहरुको चासोले विद्यालयको मुहार फेरिन थालेको पराजुलीले बताए ।

मन्दिर उद्घाटन गर्दै मेयर लामाले विद्यालयप्रति चिन्तन गर्ने व्यक्तिहरुकै कारण विद्यालयको विकास हुने बताएकी छन् । प्रगति मावि हेटौंडाकै उत्कृष्ट विद्यालय बन्नुपर्नेमा जोड दिँदै विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । मेयर लामाले नगरका सामुदायिक विद्यालयहरुले आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका विद्यार्थीहरुलाई शिक्षा दिइरहेको बताइन् । गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई चुनौती थपिएको उनको भनाई छ । स्थानीय तहलाई शिक्षाको अधिकार दिइएको भनिए पनि तलब खुवाउने बाहेक खासै अधिकार नहुनाले सोचे जस्तो काम गर्न नसकेको मेयर लामाको गुनासो छ ।्

प्रविधियुक्त विद्यार्थी उत्पादन गर्नु अहिलेको आवश्यकता रहेकाले विद्यालयहरुलाई प्राविधिक शिक्षामा ध्यान दिन पनि मेयर लामाले आग्रह गरेकी छन् । उपमेयर बानियाँले विद्यालयलाई आवश्यक हरेक विषयमा उपमहानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाए । उपमेयर बानियाँले विद्यालयमा शुद्ध खानेपानीका लागि युरोगार्डसहितको खानेपानीको व्यवस्था गरिदिएको बताए । कार्यक्रमकै अबसरमा हेटौंडा उपमहानगरपालिकाको ६ लाखको आर्थिक सहयोगमा निर्मित युरोगार्डसहितको खानेपानीको धाराको पनि उद्घाटन गरिएको हो ।

कार्यक्रमको अबसरमा विद्यालयमा यसअघि विभिन्न किसिमबाट सहयोग पु¥याउनेलाई सम्मान प्रदान गरिएको छ । विद्यालयले ५२ हजारको अक्षयकोष स्थापना गर्ने योग्यराज सापकोटालाई सम्मान गरेको हो । उनले विद्यालयमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइलाई सहयोग प¥याउन अक्षयकोष स्थापना गरेका थिए । विद्यालयमा २५ वर्षभन्दा बढी समय सेवा गरेका मञ्जु खनाल र श्यामकुमार बस्नेतलाई विद्यालयले दीर्घसेवा पदकबाट सम्मान गरेको छ । सम्मान ग्रहण गर्ने सापकोटा, खनाल, बस्नेतलगायतलाई हेटौंडाका मेयर लामा, उपमेयर बानियाँ, वडाध्यक्ष केसीले सम्मानपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*