बिचौलिया प्रवेशमा रोक लगाउने मन्त्री श्रेष्ठको निर्णय

साझाकुरा
२०७९ माघ १४, शनिबार ०९:४३

हेटौंडा- बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयहरुमा बिचौलियाहरुको प्रवेशलाई रोक लगाउने निर्णय गरेका छन् ।बिचौलियाका कारण यातायात कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती भोग्नु परेको भन्दै श्रेष्ठले बिचौलियाहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् । तर, श्रेष्ठलाई आफ्नै निर्णय भारी पर्ने कतिपयले आशंका गरेका छन् । उनकै गृहनगर हेटौंडामा रहेको यातायात कार्यालयमा बिचौलिया प्रवेश रोक्न यसअघिका तीन वटा प्रदेश सरकारले सकेका थिएनन् ।

बागमतीको चौथो सरकारका दोस्रो यातायात मन्त्री श्रेष्ठलाई पहिला आफ्नै गृह नगर हेटौंडाको यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक लगाउनुपर्ने चुनौती देखिएको छ ।हेटौंडा–११, थानाभ¥याङमा रहेको यातायात कार्यालयमा बिचौलिया भित्रसम्मै प्रवेश गर्ने गरेका छन् । प्रदेशमा मन्त्री बने लगतै पहिलो पटक १० वटा निर्णय गरेका मन्त्री श्रेष्ठले बिचौलियाको प्रवेशमा रोक लगाउने निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् । हरेक यातायात कार्यालयमा बिचौलिया मार्फत नागरिकले सेवा लिनुपर्ने बाध्यता छ ।

सेवाग्राहीले यातायात सम्बन्धी तिर्नुपर्ने सवारीकर, पटके कर घरबाट नै तिर्न सक्ने व्यवस्था मिलाउने निर्णय पनि मन्त्री श्रेष्ठले गरेका छन् । त्यसैगरी यातायात कार्यालयमा चालक अनुमति पत्रको लागि हुने गरेको भिड नियन्त्रण गर्ने निर्णय पनि उनले गरे ।यसैगरी, यातायात व्यवस्था कार्यालयबाट प्रयोगात्मक परिक्षा दिएको तीन दिनभित्र अन्तिम परिक्षा प्रकाशित गर्ने निर्णय पनि उनले गरेका छन् । प्रदेश सरकारले १० हजार जना युवालाई दिने तालिम तत्काल कार्यान्वयन गरिने निर्णय गरेको जानकारी दिए ।

प्रदेश श्रम नीतिलाई लागू गरेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय उनले गरेका छन् । श्रम नीति लागू गरेर श्रमिक मजदुरहरुको विद्यमान समस्या समाधान गर्न पनि मन्त्री श्रेष्ठलाई ठूलो चुनौती देखिएको छ । उनको गृह नगर हेटौंडाकै औद्योगिक क्षेत्रमा समयमै तलब नपाउनेलगायतका थुप्रै समस्याबाट श्रमिकहरु पीडित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*