शहीदको सम्मानमा कमि

साझाकुरा
२०७९ माघ १७, मंगलवार १०:५५

राणा शासनको विरोधमा उत्रिँदा फाँसी पाएका चार शहीदलाई विशेष सम्झना गरी शहीद दिवस मनाउने गरिन्छ । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्ति एवम् लोकहित निम्ति निस्वार्थ बलिदान भएका अमर सयौ व्यक्तिलाई सरकारले शहीद घोषणा गरेको छ । उनै शहीदलाई सम्झिएर हरेक वर्ष माघ १६ गतेका दिन शहीद दिवस मनाउने गरिन्छ । आफ्नो जीवनलाई सफलताका साथ जोगाउने प्रशस्त अवसर हुँदाहुँदै पनि स–सम्मान निडर तथा निर्भीकताका साथ मृत्यु रोज्ने नै शहीद हुन् ।

शहीदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली, सम्मान गर्दै उनीहरूले देखाएको पथमा हिँड्न प्रतिबद्धता, प्रतिज्ञा, अठोट गर्ने साथै अन्तरआत्माबाट शपथ खाने दिन शहीद दिवस हो । हाम्रो मुलुकमा २००७ सालको क्रान्तिपछि शहीद दिवस मनाउन थालिएको हो । जहानियाँ
राणाशासनविरुद्ध क्रान्तिको शंखघोष गर्दै हाँसीहाँसी फाँसीमा चढ्न र गोली खान पछि नहटेका महान् शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मुख्य शहीद मानिएको छ ।

शहीद दिवसलाई यसअघि हरेक वर्ष सप्ताहव्यापीरुपमा मनाउने गरिएकोमा यसवर्ष भने अलि बेवास्ता गरेर मनाइएको भान भएको छ । राष्ट्रव्यापीरुपमा शहीदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्ने, प्रतियोगिताहरु आयोजना गर्ने, शहीदको नाममा स्थापित पुरस्कारहरु वितरण गर्नेलगायत विविध कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्थ्यो । अनि, माघ १६ गतेका दिन सार्वजनिक बिदा दिने चलन थियो । तर, यसवर्ष त्यसो भएको पाइएन ।

माघ १६ गते शहीद दिवस मनाउने परम्परालाई सबैखाले व्यवस्थामा निरन्तरता दिइएको छ । शहीद दिवसलाई राष्ट्रिय महत्वको बनाउन उक्त दिन विदा दिने परम्परालाई केपी ओली सरकारले तोडे पनि अघिल्लो वर्ष बागमती प्रदेश सरकारले भने सार्वजनिक बिदा घोषणा गरेको थियो । यसवर्ष बागमती प्रदेश सरकारले पनि शहीद दिवसमा बिदा घोषणा गरेन । न त विशेष कार्यक्रमहरु नै आयोजना ग¥यो । त्यसैले शहीदप्रतिको सम्मानमा कमि महसुस गरिएको छ ।

राष्ट्रको रक्षा, राष्ट्रियताको संरक्षण र जनअधिकारका निम्ति नागरिक चेतना फैलाउने र निरंकुश सत्ताविरुद्ध विद्रोहको बिगुल फुक्दै संगठनात्मक अभियान छेड्ने क्रममा निरंकुश सत्ताको कठोर यातना भोग्दै आत्मसमर्पण नगरी जीवन आहूति दिएका महान् व्यक्तित्वहरू नै सही अर्थमा शहीद हुन् । १०४ वर्षे जहानीया राणा शासनले नेपालमा जनअधिकारविहीन सत्ता चलाएको इतिहासमा अंकित तथ्य हो । जनअधिकारविहीन निरंकुश जहानीया शासनविरुद्ध आन्दोलन चर्काउने क्रममा धेरै सपूत शहीद बने ।

२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव तिनै सपूतहरूको जीवन बलिदानको परिणाम हो । जीवनको आहुति दिएर नागरिक अधिकारको बहाली गराउने महान शहीदहरू नेपाली जनताका निम्ति अविरल प्रेरणाका स्रोत हुन् । तर, नागरिक अधिकार प्राप्ति र निरंकुशताविरुद्ध जीवन उत्सर्ग गर्ने शहीदहरूको सपनामाथि निरन्तर खेलबाड मात्रै भइरहेको छ ।

शहीद दिवसमा सामान्य प्रभातफेरी गरेर शहीदको शालिकमा माल्यार्पण गर्ने र शहीदका योगदानको सकारात्मक चर्चा गर्नेबाहेक शहीदका सपना पूरा गर्नेतर्फ सरकार र राजनीतिक दलहरु अग्रसर भएको पाइँदैन । शहीद दिवसलाई परम्परागतरुपमा औपचारिक कार्यक्रम गरेर मनाएको जस्तो मात्र गरिँदै आउनुले शहीदको सम्मान हुँदैन । शहीदहरूलाई मार्गदर्शक मानेर त्याग र समर्पणको राजनीतिक संस्कार बसाउन नसक्दासम्म शहीदको त्याग र बलिदान निरर्थक हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*