सुधार केन्द्रमा साँच्चैको सुधारात्मक कार्य

साझाकुरा
२०७९ माघ १८, बुधबार १०:२८

लागू औषध दुव्र्यसनमा परेका युवाहरुलाई सुधार गर्नको लागि सुधार केन्द्रहरुमा राख्ने गरिन्छ । ती सुधार केन्द्रमा राखेर कुलतमा फसेका युवाहरुलाई कुलतबाट छुटाउने प्रयास गरिन्छ । तर, अधिकांश युवाहरु पुनः लागू औषधको कुलतमै फर्कने गरेको विगत हामीमाझ छिपेको छैन । अधिकांश युवाहरु अन्जानमा कुलतमा फसेका हुन्छन् । त्यस्ता युवाहरु कतिपय सुधार केन्द्रमा बसेर सुध्रिएका पनि छन् । तर, धेरै युवाहरु सुधार केन्द्रबाट फर्केर बेरोजगारीसंगै आर्थिक अभाव भएपछि पुनः कुलतमा फसेका हुन्छन् ।

लागू औषध कुलतमा फसेर सुधार केन्द्रमा राखिएका युवाहरुलाई सुधारपछि पुनः कुलतमा फस्नु नपरोस् भन्ने उद्देश्यले सीपमूलक विद्युत् जडानसम्बन्धी तालिम दिन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र मकवानपुर रिकभरिङ समूहले सुधार केन्द्रमा रहेका युवाहरुलाई विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गर्नु आफैंमा उदाहरणीय कार्य हो ।
सुधार केन्द्रमा बसेर घर फर्कने क्रममा हातमा सीप बोकेर निस्किँदा तत्काल आफ्नो सीपअनुसार रोजगार गर्न पाउने र लगानी गरेर व्यवसाय पनि गर्न पाउने हुँदा तालिम आफैंमा फलदायी हुने आशा गर्न सकिन्छ ।

यसमा हेटौंडा उपमहानगरपालिका धन्यवादको पात्र छ । नेपालमा तालिम लिनेको संख्या गणना गर्ने हो भने कूल जनसंख्याभन्दा बढी भइसक्यो होला । तर, तालिम लिएर सदुपयोग नगर्ने हुँदा सरकारले तालिमको नाममा खर्चेको अर्बौं रुपियाँ बालुवामा पानी सावित भएको छ । तर, सुधार केन्द्रमा रहेका युवाहरु दैनिक रुपमा तालिममा हाजिर हुने, केन्द्रमा बस्दा पट्यार लाग्दो समय बिताउन सहज हुने, लागू औषधको तलतल पनि मेटिने, हातमा सीप भएपछि भविष्यमा केही गर्न सक्छु भन्ने आत्मबल पनि बढ्ने हुँदा केन्द्रमा दिइएको तालिम यसअघि हलमा जम्मा गरेर दिइने तालिमभन्दा प्रभावकारी हुने पक्का छ ।

स्थानीय सरकारले रिकभरिङ समूहको अनुरोधलाई स्वीकार गरेर तालिममा खर्च गरेको छ । प्रशिक्षकहरु खटेका छन् । सीप विकास तालिम केन्द्रले आवश्यक उपकरणसहित प्रशिक्षक खटाएको छ । आवासीय व्यवस्था केन्द्रले उपलब्ध गराएको छ । त्यसैले सबै तालिममा सहभागी युवाहरुले आफूलाई भविष्यमा एक कुशल विद्युत् जडानसम्बन्धी काम गर्ने व्यक्तिको रुपमा चिनाउन सके सबैले गरेको मेहनत फलदायी हुने थियो । यसमा सहभागी युवाहरु इमान्दार भएर सीप सिक्नु अपरिहार्य छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*