पोषणबारे ज्ञान लिँदै उपमहानगरका स्वास्थ्यकर्मी

साझाकुरा
२०७९ माघ १९, बिहीबार १२:२८

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको सबै १९ वडामा कार्यरत् स्वास्थ्यकर्मीहरुलाई पोषण विशेष प्याकेजको बारेमा जानकारी दिन बुधबारदेखि हेटौंडामा तालिम सुरु भएको छ ।हेटौंडा उपमहानगरअन्तर्गत् वडामा रहेका स्वास्थ्य कार्यालयबाट सेवा प्रवाहको क्रममा आउने सेवाग्राहीहरुलाई पोषणको बारेमा पनि ज्ञान दिनको लागि वृहत पोषण विशेष प्याकेज तालिम सञ्चालन गरिएको हो । सात दिनसम्म चल्ने तालिमलाई पाँचवटा प्याकेजमा विभाजन गरेर सञ्चालन गरिएको हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दीगो विकास लक्ष्यलाई परिपूर्ति गर्न पोषणको विशेष भूमिका हुने हुँदा सो लक्ष्य हासिल गर्न पोषण विशेषमा २० प्रतिशत हिस्सा स्वास्थ्य क्षेत्र र पोषण संवेदनशीलतामा ८० प्रतिशत हिस्सा राष्ट्रिय योजना, कृषि विकास, पशुपंक्षी विकास, महिला बालबालिका क्षेत्र र खानेपानी तथा सरसफाई क्षेत्र रहेको बताइएको छ । उक्त लक्ष्य हासिल गर्न २० प्रतिशत हिस्सा ओगट्ने स्वास्थ्य क्षेत्रलाई सबल बनाउन तालिम आयोजना गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले जानकारी दिए ।

पाँच प्याकेजमा स्वास्थ्यकर्मीहरुलाई तालिम पश्चात् योजना, कृषि, पशुपंक्षी, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई क्षेत्रका कर्मचारीहरुलाई पनि पोषण विशेष प्याकेज तालिम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले पछिल्लो समय पोषणयुक्त खाना खाने बानि हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

प्रवक्ता न्यौपानेले मीठो खाने नाममा शरीरलाई हानि तथा बेफाइदा हुने खाद्य पदार्थ सेवन गर्ने प्रचलन बढ्दै गएको बताए । उनले अब प्रत्येक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने क्रममा पोषणको बारेमा व्यापक जनचेतना जगाउन जरुरी रहेको बताए ।हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले उपमहानगरका सबै स्वास्थ्यकर्मी तथा अधिकांश कर्मचारी सहभागी हुने गरी सञ्चालन गरिएको तालिममा सक्रियतापूर्वक सहभागी भई तालिम सफल बनाउन आग्रह गरे ।

तालिममा खाद्य विविधिकरण, स्थानीय खानेकुराको महत्व, मातृपोषण, स्तनपान, पूरक वा थप खाना, बहु सुक्ष्म पोषक तत्वहरु, बृद्धि अनुगमन र महत्व, खानेपानी, सरसफाई र स्वच्छता कार्य, सामाजिक व्यवहार परिवर्तन लगायत विविध विषयमा जानकारी दिइने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*