हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हुने

साझाकुरा
२०७९ माघ २४, मंगलवार १०:०९

हेटौंडा- हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश खेलकुद परिषद् र मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हुने भएको हो । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन १५ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने जनाइएको छ ।मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले नयाँ खेलाडी लक्षित प्रतियोगितामा महिलातर्फ ४८ केजीदेखि ६६ केजी तौलसम्म ८ वटा समूह तथा पुरुषतर्फ ४८ केजीदेखि ७५ केजी तौलसम्म ९ वटा समूहमा प्रतिस्पर्धा हुने जानकारी दिए । १६ देखि २१ वर्ष उमेर समूहका खेलाडी सहभागी हुने उनको भनाइ छ । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य धनकुमार मैनालीले नयाँ पुस्ताका खेलाडीलाई सहभागिताको अवसर प्रदान गर्न लागिएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीय हुनेले ५ हजार रुपैयाँ र तृतीय हुनेलाई ३÷३ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र ग्लोब्स प्राप्त गर्नेछ । प्रतियोगितामा नेपाल बक्सिङ संघको प्राविधिक सहयोग रहनेछ । हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिता आयोजनाका लागि ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
प्रतियोगिताको संयोजक मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशी रहेका छन् । नेपाल बक्सिङ संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले प्रतियोगितामा प्रथम हुने मकवानपुरका खेलाडीलाई जनही ३ हजारका दरले पुरस्कार दिने घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*